
हाल देशभरि मनसुनी वायुको प्रभाव छ।
मनसुनको न्यूनचापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको पनि जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बिहीबार बिहान बागमती र गण्डकी प्रदेशका विभिन्न भूभागमा छिटपुटदेखि हल्का वर्षा भएको छ।
आज दिउँसो देशभर साधारणतया बदली रहने पूर्वानुमान छ। दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भु-भागका केही स्थानहरूमा र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यसैगरी, आज राति कोशी र मधेस प्रदेशलगायत पहाडी भागमा साधारणतया बदली र बाँकी भागका केही स्थानमा आंशिक बदली हुनेछ । कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
महाशाखाले वर्षाका कारण पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्व तयारी गर्न अनुरोध गरेको छ ।

