मुख्यमन्त्री पाण्डेले तोडफोड र आगजनीको निरीक्षण गरे

-


     मर्दी न्युज    
     भाद्र ३१ गते २०८२ मा प्रकाशित


पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जेनजी आन्दोलनका क्रममा भएका क्षतिको निरीक्षण गरेका छन् ।

आन्दोलनको समयमा कार्यक्रमका लागि दुवई रहेको मुख्यमन्त्री पाण्डेले सोमबार नेपाल फर्किएसँगै मंगलबार आन्दोलनबाट क्षति भएका संरचनाको निरीक्षण गरेका हुन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय निरीक्षणपछि उनी गण्डकी प्रदेश सभा पुगेका थिए ।

प्रदेशसभा पुगेका मुख्यमन्त्री पाण्डे त्यहाँको दृष्य देखेर निकै निराश र भावुक देखिएका थिए । मुख्यमन्त्रीका साथ आर्थिक मामिला मन्त्री डा.टकराज गुरुङ र केही प्रदेश सांसदहरु पनि थिए ।

आन्दोलनकारीले त्यहाँ रहेका भवनसँगै अन्य संरचना, दुईपांग्रे र चारपांग्रे सवारी साधन, कम्प्युटर, ल्यापटक, प्रिन्टर, भिडियो क्यामेरा, क्यामेरा, टेलिभिजन, स्मार्टबोर्ड, कुर्सी, टेबुल, दराज, सोफा लगायतका सामग्री तोडफोड र आगजनी गरेका थिए ।