मर्दी न्यूज,
पोखरा, १५ मंसिर । तनहुँको प्रसिद्ध धार्मिक गन्तव्य थानीमाई मन्दिरमा भोलि अर्थात् मंसिर १६ गतेदेखि महायज्ञ गरिने भएको छ । महायज्ञ सञ्चालनको लागि सम्पूर्ण तयारी पूरा भइसकेको मन्दिर व्यवस्थापन समितिका सचिव हर्कबहादुर थापाले बताउनुभयो ।
भानु नगरपालिकाको वडा नं. ७ (साविक बसन्तपुर गाविस) मा रहेको थानीमाई मन्दिरको आवश्यक भौतिक संरचना निर्माण गर्न आर्थिक संकलन तथा प्रचारप्रसार गर्ने उद्देश्यका साथ महायज्ञ गर्न लागिएको थानीमाई मन्दिर व्यवस्थापन तथा संरक्षण समितिका सचिव थापाले जानकारी दिए ।
मंसिर १६ देखि २४ गतेसम्म महायज्ञ चल्ने बताइएको छ । महायज्ञको प्रमुख कथा वाचकमा माधवकृष्ण महाराज रहनेछन् । एक करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको महायज्ञ सफल पार्न १५ देखि २० लाख रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ ।
महायज्ञबाट बचत रकमले मन्दिरको भौतिक पूर्वाधारमा विकास गरिने बताए ।