पोखरा — नेपालकी सञ्जु चौधरीले १३ औं साग खेलकुद अन्तर्गत विहीबार पोखरामा भएको भारोत्तोलन प्रतियोगितामा स्वर्ण पदक जित्दै इतिहास रचेकी छन् । महिला ५९ केजी तौल समूहमा सञ्जुले श्रीलंकाका खेलाडीलाई पछि पार्दै स्वर्ण जित्न सफल भएकी हुन् । उनी साग भारोत्तोलनमा स्वर्ण जित्ने पहिलो नेपाली महिला हुन् ।
प्रतियोगितामा सञ्जुले स्न्याचमा ७४ र क्लीन एन्ड जर्कमा ९७ सहित १७१ केजी भार वहन गर्दै राष्ट्रिय कीर्तिमान (स्न्याच, क्लीन एन्ड जर्क तथा टोटलतर्फ) का साथ साग भारोत्तोलनमा महिलातर्फ पहिलो स्वर्ण जित्न सफल भएकी हुन् ।
प्रतियोगितामा श्रीलंकनका खेलाडी आर.एम.एन.एस. राजापाक्षेले स्न्याचतर्फ ७० र क्लीन एन्ड जर्कमा ९१ गरी १६१ केजीका साथ रजत र बंगलादेशकी फायमा अख्तरले स्न्याचमा ७० र क्लीन एन्ड जर्कमा १६० केजी भार वहन गर्दै कास्य जितिन् । चार देशले भाग लिएको विधामा पाकिस्तानको पनि सहभागिता थियो ।