पोखरा, ६ माघ । गण्डकी प्रदेशको आर्थिक विकास र समृद्धि हासिल गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पर्यटन र उर्जामा लगानी गर्न तयार भएको छ । गण्डकी प्रदेशमा आर्थिक विकास र समृद्धि हासिल गर्न उपयुक्त वातावरण भएमा पर्यटन र उर्जामा एनआरएनले लगानी गर्न तयार भएको सोमवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
एनआरएनएका अध्यक्ष कुमार पन्तले हामीले आफ्नो देशमा लगानी नगरी विदेशीले कसरी लगानी गर्न प्रोत्साहित हुन्छ भन्दै त्यसकोे लागि पनि पहिला हाम्रो लगानी आवश्यक हुने बताए । प्रदेश सरकारसँग जलश्रोत र पर्यटनका केही योजनामा सम्झौता गरी अघि बढ्ने योजना रहेको अध्यक्ष पन्तले बताए । गैर आवसीय नेपालीले नेपालमा लगानी गर्नुपर्छ भन्ने मान्यताले हाल आफुहरुले विभिन्न क्षेत्रमा लगानी गर्दै आएको उनले बताए ।
एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठक यही माघ ४ र ५ गते कास्कीको रुपाकोटमा सम्पन्न भएसँगै सोमबार गण्डकी प्रदेशमा लगानी प्रबर्द्धन गर्ने सम्बन्धमा प्रदेश सरकार र गैरआवासीय नेपाल संघबीच अन्तरक्रिया कार्यक्रममा समेत एनआरएनको टोली सहभागि भएको थियो । उक्त बैठकले गरेको निर्णय सार्वजनिक गर्दै अध्यक्ष पन्तले नेपाल भ्रमण बर्ष २०२० लाई सफल पार्न सक्रिय रुपमा लाग्ने बताए । संघका राष्ट्रिय र अन्तर्राष्ट्रिय समन्वय परिषद्को वार्षिक कार्यक्रमको रणनीतिक योजना आगामी एक महिनाभित्र सार्वजनिक गरिने उनले जनाए ।
एनआरएनएले सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पन्तले अब हिउँ पग्लेको ३ हप्ताभित्र भूकम्प प्रभावित गोरखाको लाप्राकमा हाल निर्माण हुँदै गरेको नमूना वस्तीको घर सहितको शौचालय समुदायमा हस्तान्तरण गर्ने बताएका छन् ।
एनआरएनका निवर्तमान अध्यक्ष भवन भट्टको पालामा करिब ६० करोडको लागतमा सुरु भएको उक्त प्रोेजेक्टमा हाल ५ सय ७३ घर निर्माण कार्य सम्पन्न भए पनि शौचालय हाल नेतृत्वको एनआरएनको पहलमा निर्माणको माग भएकोले केही समयमा अब उक्त घर सहितको शौचालन हस्तान्तरण गरिने भएको अध्यक्ष पन्तले जनाए ।
एनआरएनएले नेपाल सरकारको साझेदारीमा अक्टोवर २०२० मा दोश्रो विश्व विज्ञ सम्मेलन गरिने भएको अध्यक्ष पन्तले जनाए । उक्त बैठकले स्मार्ट एनआरएनए परियोजना र एनआरएनए फाउण्डेसन स्थापना लागि विधानमा संशोधन गर्न आवश्यक विषयहरु एक महिनाभित्र पहिचान गरी संघको विशेष महाधिवेसनको मिति समेत तय गरिने भएको छ ।
बैठकले काठमाडौं महानगरमा नमूना सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ । उक्त प्रोजेक्टको लागि ४० लाख सहयोग संकलन भएको संघले जनाएको छ ।
बैठकले अष्ट्रेलियामा लागेको डढेलोको कारण हुन गएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृत आत्माको शान्तिको कामना समेत गरेको छ ।