होटलमा बेहोस अवस्थामा भेटिएका ८ भारतीय पर्यटक मध्ये एकको मृत्यु

-


     मर्दी न्युज    
     ७ माघ २०७६ मा प्रकाशित


Mardi News

काठमाडौं, ७ माघ । मकवानपुरको एक होटलमा बेहोस अवस्थामा भेटिएका ८ भारतीय मध्ये एक जनाको मृत्यु भएको अस्पताल स्रोतले बताएको छ । उनको पहिचान खुल्न बाँकी रहेका बताएको छ । बेहोस अवस्थामा भेटिएपछि उनीहरूलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ ।

बेहोस अवस्थामा सबैलाई उपचारका लागि काठमाडौंको हेम्स अस्पताल पठाइएकोमा एक जनाको मृत्यु भएको हो ।

थाहा नगरपालिका–४, दामनस्थित एभरेस्ट पानोरमा रिसोर्टमा बसेका ८ भारतीय पर्यटक मंगलबार बिहान बेहोस अवस्थामा भेटिएका हुन् । नेपाल घुम्न भारतको केरलाबाट १५ जनाको समूह नेपाल आएका थिए । तीमध्ये ८ जना एउटै कोठामा सुतेका थिए ।

प्रहरीका अनुसार, उनीहरू ग्यास हिटर बालेर सुतेका थिए । यसकै कारण उनीहरू बेहोस भएको हुनसक्ने आशंका प्रहरीको छ । यद्यपि, यसको पुष्टि हुन बाँकी छ ।