मन्दिर दर्शन गरेर फर्किंदै गरेका यात्रु बोकेको ट्रक दुर्घटनाः ७ जनाको मृत्यु

-


     मर्दी न्युज    
     माघ ७ गते २०७६ मा प्रकाशित


Mardi News

धादिङ, ७ माघ । धादिङको ज्वालामुखी– ४ मा रहेको ढोलामण्डली मन्दिरको पुजाआजा गरि फर्किदै गरेका यात्रु चढेको ट्रक दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । ग१ख ८०१२ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा ६ जनाको घटना स्थलमै मृत्यु भएको र १ जनाको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटना पर्ने सबै भुलभुले गाउँका हुन् । घटनास्थलमै मृत्युहुनेमा भुलभुलेका विदुर गुरुङ, ध्वजबहादुर गुरुङ, पूर्णमान श्रेष्ठ, सुनील भन्ने तिलक गुरुङ, प्रेमबहादुर गुरुङ, बेलबहादुर गुरुङ हुन् भने उपचारका क्रममा सेते गुरुङको मृत्यु भएको हो ।

नीलकण्ठ नगरपालिका–२ भुलभुलेका गुरुङ समुदायले भाकल गरे बमोजिमका ८ वटा पाठी लिएर मंगलबार बिहान ढोलामण्डली मन्दिर गएका थिए । मन्दिरमा चढाइएका पाठीसँग सामूहिक भोज र मदिरा सेवन गरेर फर्कदैं गरेको अवस्थामा मैदीभन्ज्याङ मोडमा गाडी पर्खालमा ठक्कर खाएर पल्टेको थियो । गाडी पल्टे लगत्तै स्थानीयवासीले उद्धार गरेका थिए ।

दुर्घटनाका गम्भीर घाइतेलाई सेनाको हेलिकोप्टरमा काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीले जानकारी दिए । चालकले मादकपदार्थ सेवन गरेर तीब्र गतिमा सवारी चलाउँदा ट्रक दुर्घटना भएको घाईतेहरुले बताएका छन् ।

ट्रकका चालक र यात्रुहरु अधिकांशले मादक पदार्थ सेवन गरेको प्रहरीको भनाई छ । दुर्घटनामा घाइते १५ जना मध्ये ५ जना गम्भीर घाइते छन् ।