राष्ट्रियसभामा नेकपाका १६ र राजपाका २ निर्वाचित

-


     मर्दी न्युज    
     माघ ९ गते २०७६ मा प्रकाशित


Mardi News

पोखरा, ९ माघ । संसदको माथिल्लो सदन राष्ट्रिय सभाको १८ सिटका लागि भएको चुनावमा सत्तारूढ नेकपाले १६ सिट हात पारेको छ । नेकपाकै समर्थनमा राष्ट्रिय जनता पार्टीले दुई सिट जितेको छ । प्रदेश २ मा नेकपाले राष्ट्रिय जनता पार्टी राजपासँग तालमेल गरी २÷२ सिट बाँडफाँट गरेको थियो । र, नतिजा पनि सोही अनुसार आएको छ ।

विपक्षी नेपाली कांगे्रसले पूर्वानुमान अनुसार नै एक सीट पनि जितेन । विहीबारको निर्वाचनपछि राष्ट्रियसभामा रहेका कांग्रेसका ७ जना सांसदको सीट घटेको छ । राष्ट्रिय सभामा प्रतिपक्षी कांग्रेसको १३ सीटबाट ६ सीटमा खुम्चिएको छ ।

५९ सदस्यीय राष्ट्रिय सभामा सरकारले मनोनित गर्ने तीन जनाबाहेक ४७ जना नेकपा सांसद भएका छन् । थोरै संख्याको कमीले प्रतिनिधिसभामा दुई तिहाइ पुग्न चुकेको सत्तारूढ दल नेकपाले माथिल्लो सदन राष्ट्रिय सभामा भने दुई तिहाइभन्दा पनि बढी संख्या बनाएको छ । विपक्षी दलको ७ सीट घटेसँगै सत्तारुढ दलको संख्या बढेको हो ।

नयाँ निर्वाचितले फागुन २१ देखि मात्र जिम्मेवारी पाउनेछन् ।

राष्ट्रियसभामा प्रदेश एकबाट ३ जना, प्रदेश दुईमा ४, बागमतीमा २, गण्डकी प्रदेशमा २, प्रदेश पाँचमा ३, कर्णालीमा २ र सुदूरपश्चिम प्रदेशमा २ जनाका लागि आज बिहीबार मतदान भएको थियो ।

राष्ट्रियसभा सदस्यमा विजयीहरूः


प्रदेश १
इन्दिरा गौतम (नेकपा)
गोपी अछामी (नेकपा)
देवेन्द्र दाहाल (नेकपा)

प्रदेश २ः
तुलसा दाहाल (नेकपा)
राधेश्याम पासवान (नेकपा)
मृगेन्द्रसिंह यादव (राजपा)
शेखर सिंह (राजपा)

वागमती प्रदेशः
गंगा बेल्वासे (नेकपा)
वेदुराम भुसाल (नेकपा)

गण्डकी प्रदेशः
भगवती न्यौपाने (नेकपा)
नारायणकाजी श्रेष्ठ (नेकपा)

प्रदेश ५ः
विमला घिमिरे (नेकपा)
गोपाल भट्टराई (नेकपा)
जगप्रसाद शर्मा (नेकपा)

कर्णाली प्रदेशः
सुमित्रा बीसी (नेकपा)
मायाप्रसाद आचार्य (नेकपा)

सुदूरपश्चिम प्रदेशः
तारामान स्वाँर (नेकपा)
शारदा भट्ट (नेकपा )