पोखरा, ११ माघ । दोश्रो विश्वयुद्धताका मृत्युवरण गरेका ब्रिटिश सेनाका नेपाली सैनिकहरुको स्मृतिमा स्याङ्जाको साल्मेडाँडामा निर्माण भइरहेको गोर्खा स्मारक ट्रस निर्माणका लागि नेपाल भूतपूर्व सैनिक संघ (गेसो)ले सरकारलाई आग्रह गरेको छ । गेसोका संस्थापक सभापतिसमेत रहेका गोरखा स्मारक ट्रस साल्मेडाँडाका सभापति पदमबहादुर गुरुङले शनिबार पोखरामा पत्रकार भेटघाट आयोजना गरी निर्माणाधीन गोर्खा स्मारक ट्रस निर्माणका लागि सरकारसँग आग्रह गरेका हुन् ।
गेसोका संस्थापक सभापति गुरुङले १४ पेजको विज्ञप्तिमा भनिएको छ – ‘गोर्खा स्मारकको बहुउद्देश्यीय योजनाको प्रथम चरणको समाधि सम्पन्न गर्न र नेपालको बहुजातिय संग्रहालय तथा १९ जातजातिहरुको बहुजातीय सांस्कृतिक ग्राम निर्माण गर्न लाग्ने अनुमानित बजेट रु. ५० करोड विनियोजन गरिदिन अनुरोध गर्दछौं ।’ उनले सरकारबाट रकम विनियोजनका लागि पहल गरिदिन सांसदहरुलाईसमेत गुहारेका छन् । साथै उनले यो प्रोजेक्ट सम्पन्न गर्नका लागि स्वाभिमानी उद्योगपति तथा धनाढ्यहरुलाई पनि सहयोगको अपिल गरेका छन् ।
गुरुङले साल्मेडाँडामा निर्माणाधीन गोर्खा स्मारकका लागि भूतपूर्व सैनिकहरुले अब लगानी गर्न नसक्ने बताए । ‘हामी भूपू सैनिकहरुले नेपालको राष्ट्रिय मुद्दामा जे जति योगदान र लगानी ग¥यौं, ‘उनले भने, ‘तर यो भन्दा अघि बढेर साल्मेडाँडामा लगानी गर्न सक्दैनौं ।’ गोर्खा स्मारक नेपाल र नेपाली जनताका लागि अति महत्वपूर्ण र आवश्यक भएकाले अब गोर्खा स्मारक निर्माण सम्पन्न गर्ने दायित्व र कर्तव्य पनि सरकार र नेपाली जनताको भएको उनको भनाई छ ।
गेसोका संस्थापक सभापति गुरुङले विज्ञप्तिमार्फत भनेको छ— ‘हाम्रो रगत र पसिनाले ब्रिटिस सम्पन्न र समृद्ध हुँदै विश्वको शक्तिशाली राष्ट्र बन्यो तर त्यहि त्याग र बलिदान दिने हामी र हाम्रो देश नेपालले के पायो ? गरिबी र अभाव सिवाय अरु केहिपनि पाएन भनेर यो समाधिले विश्वलाई सुनाउँदै ब्रिटिसलाई प्रश्न गरिरहनेछ ।’
गोर्खा स्मारक निर्माण सम्पन्न भएलगत्तै उद्घाटन गर्ने तयारीमा गेसो लागेको सभापति गुरुङले बताए । उनले स्मारकको उद्घाटन बेलायती प्रधानमन्त्री र नेपालका प्रधानमन्त्रीको संयुक्त रुपमा गरिने जानकारी दिए । गोर्खा स्मारकको उद्घाटन गर्न बेलायती प्रधानमन्त्री आएपनि वा नआएपनि त्यो नेपालको हितमा हुने उनले दाबी गरे ।