बोइङ ७७७ एक्स: दुईवटा इन्जिन भएको सबैभन्दा ठूलो जेटको पहिलो परीक्षण उडान सफल

-


     मर्दी न्युज    
     माघ १२ गते २०७६ मा प्रकाशित


Mardi News

फोटोः एजेन्सी

एजेन्सी । विमान निर्माता कम्पनी बोइङले दुई वटा इन्जिन भएको विश्वको सबभन्दा ठूलो जेट ‘७७७ एक्स’ को पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ ।

उक्त अमेरिकी कम्पनीले निर्माण गरेका दुई वटा विमान दुर्घटनामा परेपछि ७३७ म्याक्स मोडलका सबै विमानको उडानमा गत वर्ष संसारभरि रोक लगाइएको थियो । ती दुर्घटनामा ३४६ जनाको मृत्यु भएको थियो ।

बोइङले आफ्नो छवि सुधार्ने प्रयासस्वरूप नयाँ विमानको परीक्षण गरेको मानिएको छ ।
अमेरिकाको सियाटलनजिकै एउटा विमानस्थलबाट उडेको ७७७ एक्स विमानले चार घण्टापछि अवतरण गरेको थियो ।

तीव्र गतिमा हावा चलेकाले यस अघि दुईचोटि परीक्षण उडान स्थगित गरिएको थियो । आगामी वर्ष सेवामा प्रवेश गर्नुअघि यो विमानको थप परीक्षण हुनेछ ।

झन्डै २५२ फुट लामो यो विमान यही वर्ष प्रयोगमा ल्याइने योजना भए पनि केही प्राविधिक समस्याका कारण ढिलो हुन पुगेको हो ।
यो मोडलको विमान बोइङको सफल ७७७ मिनी–जम्बो विमानको विशाल र परिष्कृत रूप हो । दोब्रिने विङ्टिप र संसारकै सबभन्दा विशाल व्यवसायिक इन्जिन यो विमानका विशेषता हुन् ।

बोइङका बजारनिर्देशक वेन्डी सौवर्स भन्छन्, ‘यो विमानले कम्पनीका रूपमा हामीले गर्न सक्ने भव्य कामको प्रतिनिधित्व गर्छ। नयाँ मोडलका ३०९ वटा विमान बेचिसकिएको बोइङले जनाएको छ ।

तिनको कुल मूल्य ४४.२ करोड अमेरिकी डलरभन्दा बढी हुन्छ । यो विमानले अर्को कम्पनी एअरबसको ३६० यात्रु अट्ने ए ३५०–१००० विमानसँग प्रतिस्पर्धा गर्नेछ ।

अक्टोबर २०१८ मा इन्डोनेसिया र गत वर्ष मार्चमा इथियोपियामा भएका भयानक विमान दुर्घटनापछि बोइङ कम्पनी सङ्कटमा परेको छ ।

इथियोपियाको दुर्घटनामा एक नेपाली महिलासहित विभिन्न देशका नागरिकको मृत्यु भएको थियो । पाँच महिनाभित्र दुइटा दुर्घटना भएपछि बोइङले ९३७ म्याक्स मोडलका विमानको उत्पादन पनि स्थगित गरेको थियो ।

बोइङलाई उड्डयन सुरक्षाबारे हेलचेक्र्याइँ गरेको आरोप लागेको छ भने ती दुर्घटनापछि विभिन्न अनुसन्धानहरू भइरहेका छन् । थन्काइएका ९३७ म्याक्स विमानलाई पुनः उडाउन बोइङले सम्बन्धित निकायहरूबाट स्वीकृति लिने प्रयास गरिरहेको छ ।

उक्त मोडलका बोइङ अहिलेसम्मकै सर्वाधिक बिक्री भएको विमान हो । विमान त्यसरी थन्काउनुपर्दा बोइङलाई नौ अर्ब अमेरिकी डलरभन्दा बढी घाटा लागेको अनुमान गरिएको छ । (बिबिसी डटकमबाट)