
पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाको काँधमा संसद सञ्चालनको गहन अभिभारा आएको बताए । प्रधानमन्त्री ओलीले मंगलबार प्रतिनिधिसभामा नवनिर्वाचित सभामुख सापकोटालाई सफल कार्यकालका लागि शुभकामना दिए ।
मंगलबार प्रतिनिधिसभा संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नियमसंगत ढंगले संसद अघि बढाउन सफलता मिलोस् भन्दै सभामुख सापकोटालाई बधाई दिएका हुन् ।
‘कार्यकाल सफल रहोस् । हाम्रो संसदले पूरा गर्नुपर्ने भूमिकालाई प्रभावकारी ढंगले अघि बढाउन संसद सञ्चालनको गहन अभिभारा यहाँको हातमा आएको छ । म खुसी व्यक्त गर्न चाहन्छु । यस काममा सफलता मिलोस् । दल, सरकार र मेरो तर्फबाट बधाई तथा शुभकामना भन्न चाहन्छु,’ प्रधानमन्त्री ओलीले भने ।
एमसीसीलगायत कैयौं विषय संसद्ले पारित गर्नुपर्ने अवस्था रहेको बताउँदै यसका बारेमा आफूले पछि विस्तारमा चर्चा गर्ने प्रधानमन्त्री ओलीले बताए । संसद्को केही समय खेर गएको बताउँदै प्रधानमन्त्री ओलीले अब यसलाई खेर जान दिन नहुने बताए । प्रधानमन्त्री ओलीले सभामुख चयनमा विलम्ब भएको स्वीकार गरेका हुन् ।