गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले लोक संस्कृतिको खानी गण्डकी प्रदेशको पहिचान झल्किने गरी साँस्कृतिक ग्राम निर्माणको परिकल्पना गरी कास्कीको पाउँदरकोटमा करिब १३ सय रोपनी जग्गा तय भएको जनाएका छन् । साँस्कृतिक ग्राममा सबैकुरा समेट्नु पर्ने भएकाले विज्ञसँग छलफल गरेर ठोस निर्णयमा पुग्ने बताए ।
हिमाली साँस्कृतिक परिवारको २३ औ वार्षिकोत्सव तथा स्रष्टा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले हिमाली साँस्कृतिक परिवारको पहललाई प्रोत्साहन गर्न एकेडेमी बनाउने कानुनी प्रक्रिया रहेका जानकारी दिए ।
परिवार परिपक्व रहेका प्रशसा गर्दै भने ‘धर्म जाति, समुदाय, भूगोल फरक फरक रहे जस्तै संस्कृतिमा पनि फरकपन भएकाले संस्कृति सबैको साझा हो भन्ने भावनामा आधारित हुनुपर्छ ।’ उनले संस्कृतिको जगेर्ना भयो कि भएन व्यवहारिकतामा हेर्न जोड दिए ।
परिवारका प्रमुख संरक्षक संस्कृतिकर्मी चेतन कार्कीले कुनै पनि मुलुकको अस्तित्व समाप्त पार्न संस्कृतिमा धावा पुग्ने बताउदै संस्थाले लोक संस्कृतिको संरक्षण, सम्वद्र्धन र विकासका लागि निरन्तर लागि परेको हुँदा भावी पुस्ताले हाम्रो संस्कृतिको महत्व बुझ्ने बताए ।
मानार्थ सदस्य अशोक पालिखेले आफू पोखरा उपत्यका नगर विकास समितिको अध्यक्ष हुँदा गैह्र कानुनी रूपमै भए पनि हिमाली र साहारा क्लवलाई भवन निर्माण र सचिवालय सञ्चालनका लागि जग्गा उपलब्ध गराएको आज २३ वर्षपछ ठिकै गरे जस्तो लागेको अनुभूति सुनाए ।
स्रष्टा सम्मान कार्यक्रममा अभिनन्दित व्यक्तित्व संस्कृतीकर्मी तीर्थ श्रेष्ठले प्रदेश सरकारले गण्डकी मोहोत्सव गरेर लोमाङथाङदेखि नवलपुरसम्मको संस्कृतिलाई एउटै थलोमा प्रदर्शन गर्न जोड दिए । यो प्रदेशको सम्भावना जलविद्युत र पर्यटनमा मात्रै नभइ साहित्य र संस्कृतिमा पनि रहेको जनाए । श्रेष्ठले थपे ‘पर्यटनमा लोकसंस्कृति मात्रै जोड्ने हो भने कोही भोकै बस्नु पर्दैन ।’ उनले गण्डकी प्रदेश आफैमा इन्द्रधनुष जस्तो छ भन्नेमा जोड दिँदै धरतीमा रहुञ्जेल साँस्कृतिक क्षेत्रमा लागीरहने प्रतिवद्धता व्यक्त गरे ।
परिवारका संस्थापक अध्यक्ष स्व. रुपेनबाबु थापा स्मृति पुरस्कारबाट कलाकार चिजकुमारी गुरुङलाई नगर १० हजार, दोसल्ला र कदरपत्रबाट सम्मान गरेका थिए ।
अक्षयकोष स्थापनामा २ लाख सहयोग प्रदान गरेकी रुपेनबाबुकी धर्मपत्नी राजकुमारी थापालाई पनि सम्मान गरिएको थियो । परिवारले वर्षभरिका उत्कृष्ट कलाकारहरू मध्ये नृत्य निर्देशक युवराज गुरुङ र कलाकार नितु गुरुङ ‘क’ लाई नगद र सम्मानपत्र प्रदान गरेको थियो ।