पोखरा, १९ माघ । मोफसलको प्रतिष्ठित प्रतियोगिता १८ औं संस्करणको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिता आगामी फागुन २२ गतेदेखि चैत १ गतेसम्म हुने भएको छ ।
आइतबार सहारा क्लब पोखराले आयोजना गर्दै आएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लबस्तरीय आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताबारे पत्रकार सम्मेलन गरी जानकारी गरेको हो ।
‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापिन गरौं’ भन्ने नाराका साथ आयोजित गोल्डकप अखिल नेपाल फुटबल संघ (एन्फा)ले तय गरेको मितिमै प्रतियोगिता हुने क्लबका महासचिव रामजीप्रसाद अधिकारीले बताए । अधिकारीको अनुसार उक्त प्रतियोगितामा ९९ लाख ३८ हजार ५ सय रुपैयाँ खर्च हुने र १ करोड १८ लाख १ हजार रुपैयाँ आम्दानी हुने अनुमान गरिएको बताए ।
अधिकारीले पोखरा रंगशालामा आयोजना हुने उक्त प्रतियोगितामा विदेशी टिमहरु, ए डिभिजन क्लबहरु, मोफसलका टिमहरु र आयोजक सहारा क्लबसहित कुल १० टिमको मात्र सहभागिता रहने बताए ।
सहारा फुटबल एकेडेमी सञ्चालनार्थ उक्त प्रतियोगिता विगददेखि नै सञ्चालन गर्दै आएको बताउदै उक्त एकेडेमीमा पछिल्लो समय १५ जिल्लाका २४ बालकहरु आश्रित रहेको बताए ।
प्रतियोगितामा वेष्ट अफ फाईभ, हरेक खेलमा म्यान अफ दि म्याच, सर्वाेत्कृष्ट खेलाडीको लागि पुरस्कारको व्यवस्था रहने जानकारी दिए ।
प्रतियोगिताको उद्देश्य पर्यटकीय शहर पोखरालाई स्पोर्ट हब सिटीको रुपमा परिचित गराउँदै नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पु¥याउने र नवप्रतिभावान फुटबल खेलाडीहरुलाई अवसर प्रदान गर्ने रहेको क्लबका अध्यक्ष केशवबहादुर थापाले बताए ।
पत्रकारसम्मेलनमा सहारा युकेका महासचिव धनु थकाली, सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष राजमान थकाली, मुख्य प्रायोजक तथा युवा उद्यमी प्रकाश केसीलगायतले गोल्डकपबारे मन्तव्य राखेका थिए ।