कोरोना भाइरसले भ्रमण वर्षमा केही ठेस् पुर्यायोः प्रचण्ड

-


     मर्दी न्युज    
     २२ माघ २०७६ मा प्रकाशित


Mardi News

पोखरा, २२ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल पर्यटन भ्रमण वर्षलाई कोरोना भाइरसले ठेस पु¥याएको बताएका छन् ।

पोखरामा नेपाल पर्वतारोहण संघले गरेको तेस्रो विश्वशान्ति पूजाको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले उत्साह, उच्च आकांक्षा लिएर नेपाल पर्यटन भ्रमण वर्ष मनाइरहेको अवस्थामा कोरोनाले ठेस पु¥याएको बताएका हुन् ।


‘भ्रमण वर्षको सुरुवातमै कोरोना भाइरसका कारण केही ठेस पक्कै पनि लागेको छ । तुरुन्तै नियन्त्रणमा आउँछ । चीन सरकारले चमत्कारिक हिसाबले अस्पताल बनाउने र भ्याक्सिन पत्ता लगाउने प्रक्रिया अगाडि बढाइसकेको छन्,’ प्रचण्डले भने, ‘नेपालमा कोरना भाइरसको संक्रमण देखिएको छैन । नेपाल सरकारले पहल थालिसकेको छ । त्रसित हुनुपर्ने अवस्था छैन । चीनमा पनि छिट्टै नियन्त्रण हुन्छ ।’ नेपालमा कोरोनाबाट त्रसित हुनुपर्ने अवस्था नरहेको भन्दै सकारात्मक सन्देश प्रवाह गर्दै भ्रमण वर्षलाई सफल पार्न योगदान गर्नुपर्ने प्रचण्डको भनाइ थियो ।

पोखरा नेपालभरिकै पर्यटन विकासको अगुवा स्थल भएको भन्दै उनले पोखराको विकासमा आफ्नो र राज्यका तर्फबाट के गर्न सकिन्छ भनेर मिहिनेत गर्ने आश्वासन दिए । गण्डकी प्रदेश र त्यसमा पनि पोखरा आर्थिक र पर्यटक विकासको केन्द्र भएको अध्यक्ष प्रचण्डले बताए ।

‘पूर्वाधार विकासमा मेरो ध्यान छ । मैले सधैं भन्ने गरेको छु, यहाँका खोलानाला भीरपाखा, पखेरा जहाँ जन्मेर हुर्केको त्यसप्रतिको लगाब र मोह अर्कै हुँदो रहेछ,’ प्रचण्डले भने, ‘हिजोमात्रै पनि काहुँ डाँडा पुगेर त्यहाँको धरहराबाट पूरै पोखरा हेरें । मलाई विशेष माया छ ।’

पोखरामा अन्तर्राष्ट्रिय हवाई अड्डा बनाउने कुरामा पहिलो पटक आफू प्रधानमन्त्री भएदेखि यो एउटा रणनीतिक मुद्दा हो भन्ने ठानेर लगातार लागि परेको उनले बताए– ‘ढिलै भए पनि सम्पन्न हुने दिशामा जाँदा खुसी लागेको छ’ प्रचण्डले भने ।