लाटोकोसेरो तथा हुचील उत्सवको तयारी पूरा, घिमिरेलाई ‘प्रकृति संरक्षण पुरस्कार’

-


     मर्दी न्युज    
     माघ २३ गते २०७६ मा प्रकाशित


Mardi News

स्याङ्जा, २३ माघ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी प्रकृतिका साथीहरू, मिलेनियम ट्रेक व्यवस्थापन समिति र राङभाङ युवा क्लबको आयोजनामा स्याङ्जा जिल्लाको राङभाङ–भैंसेगौंडामा भोलि शुक्रवारदेखि हुन लागेको नवौं ‘नेपाल लाटोकोसेरो तथा हुचील उत्सव’ को लागी तयारी अन्तिम चरणमा पुगेको उत्सव संयोजक बालकुमार गुरुङले बताए ।

जस अन्तर्गत लाटोकोसेरोसम्बन्धी संग्रहालय, परम्परागत गोलो घर निर्माण, रोटेपिङ, पंक्षीसम्बन्धीका स्टलहरु आदि तयार भएको उनले बताए । केही स्टलहरु निर्माण गर्नुपर्नेमा आज विहीबार सबै तयारी हुने क्लबका अध्यक्ष समेत रहेका गुरुङले बताए ।

घिमिरेलाई ‘प्रकृति संरक्षण पुरस्कार’
उत्सवमा वन्यजन्तु तथा पर्यावरणीय संरक्षणको क्षेत्रमा योगदान पु¥याएको भन्दै पोखरा पंक्षी समाजका अध्यक्ष, संरक्षणकर्मी एवम् मर्दी न्यूजका संवाददाता तथा फोटोग्राफरसमेत रहेका मनशान्त घिमिरेलाई ‘प्रकृति संरक्षण पुरस्कार’बाट सम्मान गरिने भएको छ ।

लाटोकोसेरो तथा हुचील उत्सवका अवसरमा घिमिरेलगायतकालाई सम्मान गर्न लागेको प्रकृतिका साथीहरु संस्थाका कार्यकारी निर्देशक राजु आचार्यले बताए ।

त्यसैगरी सोही ‘प्रकृति संरक्षण पुरस्कार’बाट अन्य तीन जना धनगढीका पत्रकार अविनाश चौधरी, ग्रीन गार्ड नेपालका अध्यक्ष एवम् संरक्षणकर्मी विश्वनाथ रिजाल र शुक्लाफाँट राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मणप्रसाद पौडेल रहेका छन् । संरक्षणकर्मीहरुलाई जनही नगद २५ हजारसहित ताम्रपत्र तथा दोसल्लाबाट सम्मान गरिने आचार्यले बताए ।

यसरी नै लाटोकोसेरो तथा हुचील उत्सवमा लामो समयदेखि वन, वातावरण तथा वन्यजन्तु संरक्षणमा योगदान गरेका दुईवटा संस्थालाई पनि दोसल्ला र ताम्रपत्रले सम्मान गर्न लागिएको आचार्यले बताएको छ । सम्मानित हुनेमा वर्दिया जिल्लामा कार्यरत बर्दिया प्रकृति संरक्षण क्लब र पाचँथर जिल्लामा कार्यरत दीपज्योति युवा क्लब रहेको उनले बताए ।

लाटोकोसेरो तथा हुचील उत्सवकै अवसरमा समाचार लेखनका माध्यमबाट सहस्राब्दी पदमार्गको पर्यावरणीय संरक्षणमा योगदान पु¥याएको भन्दै राष्ट्रिय समाचार समिति गण्डकी प्रदेश कार्यालय पोखराका समाचारदाता वासुदेव पौडेललाई सम्मान गरिने भएको छ ।

उत्सव आयोजक मूल समितिको यही माघ २ गते बसेको बैठकको निर्णयअनुसार समाचार लेखनका माध्यमबाट मिलेनियम पदमार्गको पर्यावरणीय संरक्षण र सम्भावनाको उजागरका साथै यस पदमार्गको प्रबद्र्धनमा योगदान गरेबापत पौडेललाई सम्मान गर्न लागिएको पदमार्ग व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले बताए । सो अवसरमा डिभिजन वन कार्यालय स्याङ्जालाई पनि संस्थागत सम्मान गरिने छ ।

तनहुँको दुलेगौँडाबाट स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर दूरीको मिलेनियम पदमार्ग (सहस्राब्दी पदमार्ग) अन्तर्गत करिब बीच भागमा पर्ने राङभाङ भैंसेगौंडामा आयोजित उत्सवमा शुक्रवार सम्मान गरिने बताइएको छ ।