संसद अवरोध खोल्दै कांग्रेसले भन्योः ‘अख्तियार सरकारको लाचार छायाँ’

-


     मर्दी न्युज    
     २८ माघ २०७६ मा प्रकाशित


Mardi News

पोखरा, २८ माघ । प्रतिनिधि सभा बैठक तीन दिन अवरुद्ध गरेको नेपाली कांग्रेसले मंगलबारबाट सञ्चालन हुन दिएको छ । काँग्रेसको उपसभापति एवम् संसदीय दलका उपनेता समेत रहेका विजयकुमार गच्छदारविरुद्ध अख्तियारले मुद्दा चलाएको विरोधमा अवरुद्ध संसदलाई स्थगित गरेको हो ।

मंगलबार प्रतिनिधिसभाको बैठकको सुरुमा बोल्दै नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारको प्रभावमा परेर राजनीतिक प्रतिसोधका आधारमा आफ्ना नेता विजयकुमार गच्छदारलाई भ्रष्टाचार मुद्दा लगाएकाले संसद अवरुद्ध गरेर विरोध गर्नुपरेको बताइन् । उनले ‘संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग सरकारको लाचार छाया भएको’ आरोप लगाउँदै प्रतिशोध साँध्न गच्छदारमाथि मुद्दा दायर गरिएको आरोप लगाइन् ।

आफ्नो सम्बोधनको अधिकांश समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विरोधमा बोलेकी भुसालले संवैधानिक अंग सरकारको लाचार छायाँ बन्न नुहने बताइन् । उनले पूर्वाग्रह र प्रतिशोध साँध्न संवैधानिक अंग परिचालन भएकोबारे संसदले नियाल्नुपर्ने बताइन् । अख्तियारलगायत संवैधानिक अंगहरु सरकारको प्रवाहमा परेर कुनै गलत काम गर्नु हुन्न कुनै निर्णय गर्नुहुन्न भन्ने सन्देश दिन खोजेको कांग्रेसले बताएको छ ।

अख्तियारको ध्यानाकर्षण गराउन र आगामी दिनमा यस्ता गल्ती नदोर्होयाउन सचेत गराउन संसद अवरुद्ध गरेको भन्दै नेतृ भुसालले यो मुद्दालाई राजनीतिक तबरबाट अगाडि बढाउने बताइन् । कांग्रेसले अवरोध नगरेपछि संसद सञ्चालन भएको छ ।