
पोखरा, २८ माघ । पोखरा इन्जिनियरिङ कलेजमा आउदो फागुन एक गतेदेखि सातौं पेक टेक्निकल एक्सपो २०२० हुने भएको छ ।
हरेक वर्ष कलेजमा अन्तिम सेमेष्टर र अन्य सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुद्वारा सृजना गरिएका प्रोजेक्टहरु सार्वजनिक गर्ने उद्देश्यले आयोजना गरिने उक्त पेक प्रदर्शनी यसपटक फागुन २ गतेसम्म चल्ने कलेजले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।
उक्त प्रदर्शनमा कलेजका विद्यार्थीहरुले उत्पादन गरेका करिब ४० वटा प्रोजेक्टहरु राखिने कलेजका रिसर्च विभाग प्रमुख सरोज गिरीले बताए । उनका अनुसार एक्सपोमा पोखरा क्षेत्रमा रहेका आइटी कलेजहरुबीच अन्तर कलेज सफ्टवेयर प्रतियोगिता हुने भएको छ । प्रतियोगिताका विजेतालाई १० हजार र उपविजेतालाई ५ हजार नगद पुरस्कार प्रदान गरिने भएको छ । पोखरा क्षेत्रमा आइटीसम्बन्धी ११ वटा कलेजहरु रहेका छन् ।
भूकम्प सम्बन्धी, रोवो रेस गेम, आइटी सचेतनालगायतका कार्यक्रम एक्सपोका आकर्षणको रुपमा रहने भएको प्रशासक चिजकाजी गुरुङले बताए । सिभिल, कम्प्यूटर इन्जिनियरिङ र आर्किटेक्चरका साथै स्नातकोत्तरमा एम.एस्सी.कनस्ट्रक्शन म्यानेजमेन्ट विषयहरुको अध्यापन गराइने यस पोखरा इन्जिनियरिङ कलेजबाट स्नातक तहमा करिब एक हजार १०० जना र स्नातकोत्तर तहमा २ सय जना दक्ष इन्जिनियरहरु उत्पादन भएको प्रशासक चिजकाजी गुरुङले बताए । त्यसै गरी कलेजले डिप्लोमा तहमा १५ व्याचबाट ५ सय ५० जना दक्ष सब इन्जिनियरहरु उप्पादन गरेको उनले जनाए ।
गुरुङका अनुसार कलेजबाट उत्पादन भएका दक्ष विद्यार्थीहरु मध्य करिब ५० प्रतिशत अष्ट्रेलिया, जापान, अमेरिका, कोरियासहितका देशमा गएका छन् भने बाँकी ५० प्रतिशत नेपालकै सरकारी तथा गैर सरकारी संघ संस्थामा आवद्ध भएका छन् । कलेज इन्जिनियरिङ विषयको अध्यापन गराउने पश्चिमाञ्चलकै पहिलो निजी कलेज भएको कलेजको दाबी छ ।
पोखरा विश्वविद्यालयको सम्बन्धनमा स्नातक र स्नातकोत्तर साथै सिटिइभिटिसँगको सम्बन्धनमा यस कलेजमा डिप्लोमा तहमा पढाई गराइन्छ ।