पोखरा, १ फागुन । रोयल ट्रेक प्रवद्र्धन एवम् निर्माण समितिले पोखरा पंक्षी समाजसँगको सहकार्यमा कालिकास्थान, ठूलाकोट, देउमाडी, चितेपानी, ठूलोस्वाँरा क्षेत्रको पंक्षी तथा जैविक विविधताको प्रारम्भिक अध्ययन सम्पन्न गरेको छ ।
प्रारम्भिक अध्ययन अनुसार ‘रोयल ट्रेक वनस्पति तथा जैविक विविधतामा धनी रहेको’ पोखरा पंक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले बताउनुभयो । यो क्षेत्र पंक्षी अवलोकनको लागि पनि महत्वपूर्ण रहेको बताउँदै नेपालमा मात्र पाइने काँडेभ्याकुर पनि यस क्षेत्रमा पाइने बताउनुभयो ।
प्रारम्भिक अध्ययन समापनको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष घिमिरेले वनस्पति तथा जैविक विविधतामा धनी यस क्षेत्रको संरक्षणतर्फ लाग्नुपर्ने कुरामा जोड दिनुभयो ।
समापन कार्यक्रमका प्रमुख अतिथि एवम् पोखरा महानगरपालिकाका वडा नं. २८ का अध्यक्ष निर्मल दियालीले बाटोघाटो र पदमार्ग, साँस्कृतिक महत्वका कोटहरु, पोखरी संरक्षणमा आफूहरु हातेमालो गर्न तयार रहेको बताउनुभयो ।
कुनै बेला एकदमै चर्चित रहेको रोयल ट्रेक हालका दिनमा ओझेलमा परेकोले अतिथि सत्कारका तालिमहरु दिएर स्थानीयलाई सशक्तिकरण गर्न लागिएको समितिका अध्यक्ष नारायणप्रसाद कुँइकेलले बताउनुभयो । विज्ञहरु, पोखराका गाइडहरुसहित १५ जना र स्थानीय युवाहरुको सहभागितामा भएको कार्यक्रमको सञ्चालन दिपेशवावु सुवेदीले गर्नुभएको थियो ।