‘पारिवारिक जमघटमा खिचिएको भिडियोलाई सार्वजनिक गर्नु विडम्बनापूर्ण’

-


     मर्दी न्युज    
     ४ फाल्गुन २०७६ मा प्रकाशित


पोखरा, ४ फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मदिरा सेवन गरिरहेका तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि मुख्यमन्त्रीको सचिवालयले यसको खण्डन गरेको छ । मुख्यमन्त्रीको कार्यकक्षमै मदिरा सेवन गरेको दाबीसहित तस्विर सार्वजनिकको कुरालाई लिएर आइतबार मुख्यमन्त्रीको सचिवालयले विज्ञप्ति प्रकाशित गरी यसको खण्डन गरेको हो ।

मुख्यमन्त्रीको निजी सचिवालयबाट डिल्लीराम सिग्देलले विज्ञप्ति प्रकाशित गरी सामाजिक सञ्जालमा आएको तस्विर, भिडियोलाई लिएर बनाईएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । फागुन २ गते मुख्यमन्त्रीका जेठानको परिवार बेलायतबाट आएको र सोही दिन मुख्यमन्त्रीको जन्मदिन पनि भएकाले साँझ निवासमा पारिवारिक जमघट भएको विज्ञप्तिमा उल्लेख छ । ‘पारिवारिक जमघटमा खिचिएका भिडियो र फोटोलाई मुख्यमन्त्रीज्यूको सरकारी कार्यकक्षमै मदिरापान गरेको भन्दै सार्वजनिक गर्नु विडम्बनापूर्ण छ,’ विज्ञप्तिमा भनिएको छ ।

‘गुरुङ जातिको संस्कार अनुसारको पारिवारीक जमघटको क्रममा कुनै मर्यादा विपरित कार्य नभएको र अतिरञ्जित गर्न खोजिएजस्तै त्यस्तो नियत पनि नरहेको स्पष्ट पार्न चाहान्छौ । तसर्थ यस विषयमा कुनै भ्रममा नपर्नको लागि हामी सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक आग्रह गर्दछौं ।’ – विज्ञप्तीमा उल्लेख छ ।