कोरोनाभाइरस संक्रमण घट्दो अवस्थामा

-


     मर्दी न्युज    
     फागुन ५ गते २०७६ मा प्रकाशित


तस्विरः एजेन्सी

एजेन्सी । कोरोनाभाइरस संक्रमणबाट अत्यधिक प्रभावित चिनियाँ क्षेत्रहरूमा त्यसका नयाँ संक्रमणका घटना अलिकति स्थिर हुन थालेको चिनियाँ अधिकारीहरुले बताएको छ ।

चिनियाँ अधिकारीहरूले आइतवार २ हजार ९ वटा नयाँ संक्रमणका घटना पाइएको बताएका थिए । शनिवार नयाँ संक्रमणका व्यक्ति २ हजार ६४१ र शुक्रवार ५ हजार ९० पुगेको पाइएको थियो । संक्रमिति व्यक्तिको गणना गर्ने विधिमा हेरफेर गरेपछि गत हप्ताको आरम्भमा ह्वात्तै संख्या बढे पनि त्यसपछि घट्दो क्रममा रहेको अधिकारीहरुले बताएका छन् ।

चीनमा सोमवारसम्म ७० हजार ५४८ व्यक्ति कोरोनाभाइरसबाट संक्रमित भएका छन् । देशभरि ‘गम्भीर अवस्था’का बिरामीहरूको संख्या १५ प्रतिशतबाट घटेर सात प्रतिशत पुगेको चीनको स्टेट काउन्सिलले जनाएको बिबिसी समाचारमा उल्लेख छ । चीनमा सोमवारसम्म १ हजार ७ सय ७० जनाभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ ।

चीनबाहिर झन्डै ३० वटा मुलुकमा ७०० भन्दा बढी कोरोनाभाइरस संक्रमणका बिरामी देखिएका छन् । चीनबाहिर फ्रान्स, हङ्कङ, फिलिपिन्स र जापानमा चार जनाको मृत्यु भएको विभिन्न सञ्चार माध्यमले जनाएको छ ।

कोरोनाभाइरसको संक्रमणसँग संघर्ष गरिरहेको चीनले उक्त प्रकोपको केन्द्रबिन्दु हुबे प्रान्तमा मानिसहरूको गतिविधिमा थप कडाइ गरेको छ । आपत परेको बेलाबाहेक त्यहाँका मानिसलाई घरबाहिर निस्कन प्रतिबन्ध लगाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।