काठमाडौं ५ फागुन । पूर्वउपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीका रुपमा सोमबार सपथ ग्रहण गरी पदभार सम्हालेकी छन् । हालै मात्र उपसभामुखबाट राजीनामा दिएकी डा. तुम्बाहाङ्फेले सोमबार दिउँसो साढे ३ बजे राष्ट्रपति भवन शीतल निवासमा सपथग्रहण गरेकी हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई पद तथा गोपनियताको सपथ दिलाएका थिए । यसअघि उपप्रधानमन्त्रीसमेत रहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजीनामा दिएपछि कानुनमन्त्रीको जिम्मेवारी स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई दिइएको थियो ।
अग्नि सापकोटालाई सभामुख बन्ने बाटो खोलिदिनका लागि तुम्बाहाङ्फेले माघ ६ गते उपसभामुखबाट राजीनामा दिइएकी थिइन् । लामो समयसम्म प्रतिनिधिसभाको सर्वोच्च पद रिक्त हुने भन्दै उनले राजीनामा नदिने अडान राख्दै आएकी थिइन् ।