आज राष्ट्रिय प्रजातन्त्र दिवस, राष्ट्रपतिद्वारा दिवसको शुभकामना

-


     मर्दी न्युज    
     फागुन ७ गते २०७६ मा प्रकाशित


पोखरा, ७ फागुन । आज फागुन ७ गते । विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा आज राष्ट्रिय प्रजातन्त्र दिवसको स्मरण गरिन्छ । आज राष्ट्रिय प्रजातन्त्र दिवस ७० औँ वर्षमा प्रवेश गर्दैछ ।

प्रजातन्त्र स्थापनाका लागि भएको संघर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिएका थिए । प्रजा परिषद् नामक राजनीतिक दल भूमिगत रुपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उनीहरूलाई मृत्युदण्ड दिइएको थियो ।

एकसय चार वर्षीय जहानियाँ राणा शासनको विरुद्धमा जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासकले जनतासमक्ष घुँडा टेक्न बाध्य भई प्रजातन्त्र स्थापना भएको घोषणा गरियो । तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र नेपाली काँग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भयो ।

विसं २००० पछि स्थापना भएका नेपाल प्रजातन्त्र काँग्रेस र नेपाली राष्ट्रिय काँग्रेसको २००६ सालमा एकीकरणपछि नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो ।

राष्ट्रपतिद्वारा राष्ट्रिय प्रजातन्त्र दिवसको शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय प्रजातन्त्र दिवस, २०७६ को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गरेकी छिन् । सन्देशमा भनिएको छ– यस दिवसले सबैलाई प्रजातन्त्रका आधारभूत मूल्य र मान्यता आत्मसात गर्दै अघि बढ्ने उत्प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु । आज प्रजातन्त्र दिवस मनाइरहँदा प्रजातन्त्रका लागि भएको संघर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।’

निरङ्कुशता विरूद्धको बलिदानीपूर्ण संघर्षको परिणामस्वरूप मानवअधिकार तथा राजनैतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक दिनको सम्झनामा प्रत्येक वर्ष फागुन ७ गतेलाई राष्ट्रिय प्रजातन्त्र दिवसको रूपमा मनाउँदै आइएको शुभकामना सन्देशमा उल्लेख छ ।

राष्ट्रपति कार्यालयद्वारा प्रकाशित सन्देशमा भनिएको छ– ‘नेपाली जनताको चाहना मुलुकको आर्थिक–सामाजिक रूपान्तरण नै हो । नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अंगिकार गर्दै न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको छ । यसलाई प्रजातन्त्रको ठूलो उपलब्धिको रूपमा लिन सकिन्छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा हासिल गर्न यो दिवसले थप उर्जा प्रदान गर्नेछ भन्ने विश्वास लिएको छु ।’

प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्नका लागि प्रजातन्त्रलाई जीवन पद्धति बनाएर अघि बढ्ने प्रेरणा सबै नेपालीमा दिन सकोस् भन्ने शुभकामना व्यक्त गरिएको छ ।