वुहानबाट ल्याइएका सबै सुरक्षित

-


     मर्दी न्युज    
     ७ फाल्गुन २०७६ मा प्रकाशित


काठमाडौं, ७ फागुन । चीनको हुबेइ प्रान्तबाट उद्धार गरी ल्याइएका १७५ नेपाली नागरिकमा गरिएको स्वास्थ्य परीक्षणमा नोवेल कोरोना भाइरस (कोभिड १९) संक्रमण नेगेटिभ रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठका अनुसार चीनबाट उद्धार गरेर ल्याइएपछि गत आइतबारदेखि भक्तपुरको खरिपाटीमा बनाइएको क्वारेन्टाइन क्षेत्रमा बसिरहेका १७५ जनाबाट लिइएको र्यालको नमुनाको परीक्षण गर्दा सबैमा कोरोना भाइरसको संक्रमण नेगेटिभ देखिएको हो ।

चीनबाट उद्धार गरिएका सबैजनाबाट लिइएको नमुनाको परीक्षण टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मंगलवार साँझ सबैको रिपोर्ट दिएको बताउँदै प्रवक्ता श्रेष्ठले भने, ‘हाललाई कसैमा पनि कोरोनाको संक्रमण देखिएन । १४ दिन पछि सबैबाट फेरि एकपटक परीक्षण गरिन्छ ।’

पत्रकार सम्मेलनमा बोल्दै सचिव खगराज बरालले क्वारेन्टाइनमा बसेका नेपालीहरुमा कोरोना भाइरस नभेटिएको र अभिभावकहरु चिन्तित हुनु नपर्ने बताए ।