संघ सरकार संघीयताको मर्मअनुसार चलेको छैनः मन्त्री चुमान

-


     मर्दी न्युज    
     फागुन ७ गते २०७६ मा प्रकाशित


पोखरा, ७ फागुन । आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले संघ सरकार संघीयताको मर्मअनुसार नचलेको धारणा व्यक्त गरेका छन् । बुधवार पोखरामा राष्ट्रिय समाचार समितिको ५९ औं वार्षिकोत्सव अवसरमा आयोजित समृद्धि प्राप्तिमा सञ्चारको भूमिका विषय अन्तरक्रिया एवम् सम्मान कार्यक्रममा मन्त्री चुमानले जनताको सहज पहुचको लागि देशमा संघीयता लागू भएपनि अधिकार हस्तान्तरण नभएको गुनासो व्यक्त गरे ।

राष्ट्रिय समाचार समितिलाई अधिकारयुक्त प्रदेशस्तरीय बनाउने सोचका साथ सञ्चारग्राम निर्माणको लागि संघ सरकारलाई बारम्बार ताकेता गर्दा पनि सफल हुन नसकेको मन्त्री चुमानले बताए । उनले सञ्चार मन्त्रालयमै गएर गण्डकी प्रदेशको राजधानी पोखरामा सञ्चारग्रामको लागि स्थान माग गर्दा संघ सरकार सकारात्मक भएपनि हालसम्म त्यो हुन सकेको बताए । उनले भने, ‘दुःखका साथ भन्नुपर्छ, विभिन्न ठाउँ प्रस्ताव गरिएपनि अधिकार र बजेट केन्द्र सरकारले यस आ.व.मा विनियोजन गरेको छैन ।’

राष्ट्रिय समाचार समिति (रासस)का पूर्व अध्यक्ष कोमलनाथ बरालले पोखराको रासस कार्यालय प्रदेशस्तरीय हो कि के हो ? भनी प्रश्न गर्दै राससलाई प्रतिस्पर्धी बनाउन संरचनात्मक सुधारको आवश्यकता रहेको औल्याएका छन् । रासस प्रतिस्पर्धामा जानका लागि संरचनागत सुधार, कानूनी सुधार र प्रकृयागत सुधार आवश्यक रहेको उनले बताएका छन् ।


राससका पूर्वअध्यक्ष गंगाधर पराजुलीले निजी स्रोतबाट चलेका पत्रकारको जति राससकर्मीलाई सेवा, सुविधा नभएको बताए । कार्यक्रममा राससका पूर्व संवाददाता एवम् वरिष्ठ पत्रकार नारायण कार्की, पत्रकार महासंघ केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठलगायतका वक्ताहरुले रासस ग्रामीण क्षेत्रसम्म पुग्नसक्ने पहुँच भएकाले बजार केन्द्रित नभई यसको आयाम बढाउन सुझाव दिए ।


राष्ट्रिय समाचार समिति गण्डकी प्रदेशका प्रमुख वासुदेव पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका राससकर्मी जमुना वर्ष शर्मालाई नगद रु. १५ हजार तथा प्रमाणपत्रले सम्मान गरिएको छ ।