
काठमाडौं, ९ फागुन । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन चाँदी व्यवसायी माहासंघले शुक्रबारका लागि छापावल सुनको प्रतितोला मूल्य ७८ हजार १ सय र तेजावी सुनको मूल्य ७७ हजार ८ सय रुपैयाँ तोकेको छ ।
यस्तै चाँदीको प्रतितोला मूल्य ९ सय १५ रुपैयाँ पुगेको संघले जनाएको छ । बिहीबारको तुलनामा सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य स्थीर छ । फागुन ६ गते देखि दैनिक बढ्न थालेको सुनको मूल्यले हरेक दिन उच्च मूल्यको रेकर्ड राखेको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा बढेको सुनको मूल्यले यहाँको बजार प्रभावित भएको नेपाल सुन चाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए । मूल्य बढेसँगै कारोबार आधाभन्दा बढीले घटेको बज्राचार्यले उनले बताए ।
गत वर्ष फागुन महिनामा महासंघअन्र्तगतका व्यवसायीले देशभर दैनिक ४० किलो भन्दा धेरै सुन बिक्री गर्ने गरेकोमा अहिले मुस्किलले १५ किलो हाराहारी मात्रै कारोबार भएको माहासंघले जनाएको छ ।
गत पुसमा अमेरिका र इरानबीच तथा अमेरिका र चीनबीचको द्वन्द्व बढेका कारण सुनको मूल्य निरन्तर बढेर ७५ देखि ७६ हजार रुपियाँ पुगेको थियो तर यतिबेला भने चीनको उहान प्रान्तबाट फैलिएको कोभिड १९ भाइरसको प्रभाव सुन बजारमा पनि परेको बजार विश्लेषकहरूको भनाइ छ । भाइरसको प्रकोपका कारण लगानीकर्ता सुन बजारमा केन्द्रित भएका कारण सुनको मूल्य बढेको हो ।