पोखरा, ९ फागुन । पोखराका पर्यटन व्यवसायीहरुको २१ सदस्यीय टोली भारत प्रस्थान गरेको छ । पोखरा पर्यटन परिषदको आयोजना तथा नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको सहयोगमा पोखरामा क्रियाशिल पर्यटन व्यावसायी तथा पत्रकारसहितको उक्त समूह एक साताको लागि आज शुक्रवार मित्रराष्ट्र भारतको सिलिगुडी तथा कलकत्ताको लागि प्रस्थान गरेको हो ।
‘इण्डिया सेल्स मिसन २०२०’ नाम दिइएको उक्त कार्यक्रमको नेतृत्व पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले गर्नु भएको छ । भ्रमण संयोजनको जिम्मेवारी नाट्टा गण्डकी प्रदेशका कोषाध्यक्ष राजेश पहारीले लिनुभएको छ । मिसनमा जाने टोलीलाई विदाई गण्डकी प्रदेश सांसद राजीव पहारीले गर्नुभएको थियो ।
सांसद राजिव पहारीले विदाइ गर्ने क्रममा संक्षिप्त्त मन्तव्य राख्दै मिसन सफलताको शुभकामना दिनुभयो । नेपाल पर्यटन बोर्डका पूर्व बोर्डसदस्य तथा पर्यटन विज्ञसमुहका सदस्य बासुदेव त्रिपाठीले नेपाल सुरक्षित गन्तव्य रहेको सन्देश दिन र पर्यटन व्यापार प्रबर्धनका लागि मिसन सफल हुने धारणा व्यक्त गर्नुभयो ।