प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन खोज्ने ४ जना विद्यार्थी पोखरामा पक्राउ

-


     मर्दी न्युज    
     १२ फाल्गुन २०७६ मा प्रकाशित


पोखरा, १२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने ४ जना विद्यार्थीलाई पक्राउ गरिएको छ ।

नेकपा गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न पोखरा आएका ओलीलाई समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनका विद्यार्थीले पोखरा सभागृह गेटबाहिर कालो झन्डा देखाउन तयारी गर्दै गरिरहेको बेलामा प्रक्राउ परेका हुन् ।

उनीहरुले निर्वतमान सञ्चारमन्त्री गोकुल बास्कोटाको अडियो प्रकरण, यति होल्डिङ्सलाई सार्वजनिक जग्गा उपलब्ध गराएको, नेकपा सरकार भष्ट्राचारमा लिप्त भएको लगायतका आरोप लगाउँदै नारबाजी गरेका थिए ।

पक्राउ पर्नेमा समाजवादी विद्यार्थीका उपाध्यक्ष नेत्र चापागाईं, रेशम सापकोटा लगायतका ४ जना रहेका छन् ।
नेकपा गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री ओलीलगायत नेता पोखरा सभागृहमा आएका हुन् । पोखरा सभागृहमा सोमबार र मंगलबार प्रशिक्षण र बैठक बस्दैछ । प्रशिक्षणमा करिब १६ सय सहभागी हुँदैछन् ।