
पोखरा, १२ फागुन । नेपाली बजारमा सुन चाँदीको मूल्यले हरेक दिन कीर्तिमानी अंक कायम गरेको छ । सोमबार सुन तोलाको ८० हजार ३ सयमा कारोबार भइरहेको छ ।
नेपाली सुन चाँदी व्यवसायी संघकाअनुसार सुनको मूल्य इतिहासमै पहिलो पटक ८० हजार नाघेको हो । आइतबारको तुलनामा सोमबार बजारमा सुनको मूल्य १५ सय रुपैयाँले बढेको छ । यसअघि आइतबार बजारमा सुन तोलाको ७८ हजार ८ सयमा कारोबार भएको थियो ।
सोमबार तेजावी सुन तोलाको ८० हजारमा कारोबार भइरहेको छ । चाँदी प्रति तोलामा ५ रुपैयाँ बृद्धि भएर ९२५ कायम भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च वृद्धि भएपछि त्यसको प्रभाव नेपाली बजारमा परेको विज्ञहरुको भनाई छ ।