पोखरा, १३ फागुन । पोखराको फेवातालमा सोमबार डुंगा पल्टिँदा डुबेका २७ वर्षीय सुमित भनिने रामशरण लुइँटेल मृत फेला परेका छन् । गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराबाट खटिएको गोताखर सहितको उद्दार टोलिले खोजतलास गर्ने क्रममा मंगलबार दिउँसो करिव २ः४५ बजेकोे समयमा काठमाडौ कपनका लुइँटेललाई मृत भेटेको हो ।
फेवातालको खपौदीमा करिब ४५÷५० फिट गहिरोबाट लुइँटेलको शव निकालिएको हो । वडा प्रहरी कार्यालय बैदामका डिएसपी यादव ढकालले सशस्त्र प्रहरीका तालिम प्राप्त गोताखर दीर्घनारायण पौडेल र दीपेन्द्र विष्टको टोलीले तालमा घोप्टो परेर गढेर रहेको लुइँटेलको शव निकालेको बताएका छन् ।
सोमबार दिउँसो करिब १ बजेर ३० मिनेट जाँदा खपौदी क्षेत्रबाट काठमाडौंको एक टोली सिंगल डुंगा लिएर हिँडेको थियो । डुंगा पल्टिदा डुंगामा सवार ३ मध्ये १ जना बेपत्ता भएका थिए ।