
पोखरा, १३ फागुन । सिटी रेवान पोखराको आयोजनामा ‘आठौं सिटी रेवान महोत्सव तथा फुड फेस्टिबल’ हुुने भएको छ । सिर्जनाचोकदेखि आलुमाइलाचोकस्थित सडकमा आगामी फागुन २३ देखि २५ गतेसम्म महोत्सव तथा फुड फेस्टिबल गर्न लागेको सिटी रेवान पोखराका महासचिव जीवन दाहालले बताए ।
महोत्सवमा रेष्टुरेण्ट व्यवसायीको १६ वटा स्टल तथा अन्य स्टल प्रयोजनको लागि १० स्टल गरी कुल २६ स्टल रहने दाहालले बताए ।
संस्थाले स्थापनाकालदेखि सिटी रेवानमा आबद्ध सदस्यहरुको हित संरक्षण गर्नुका अलावा सामाजिक तथा पर्यटन क्षेत्रमा क्रियाशिल भई समाज सेवा र पर्यटन प्रबद्र्धनमा ठोस् योगदान पुर्याइरहेको बताउँदै लोकदोहोरी क्षेत्रको विकास र विस्तारमा टेवा दिई संस्कृतिको जगेर्ना गर्दै आइरहेको महासचिव दाहालले जनाए ।
राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांस्कृतिक प्रस्तुति सहित खानाका विभिन्न परिकारहरुको मज्जा महोत्सवमा लिन सकिने उनले बताए । पप कन्सर्ट, हाँस्य कलाकारहरुको दैनिक प्रस्तुति, ढिंडो खाने प्रतियोगिता, कृषि प्रदर्शनी, रत्यौली गीत प्रतियोगिता र भाले छोप्ने प्रतियोगिता रहने सिटी रेवान पोखराका अध्यक्ष दीपक तिमिल्सिनाले बताए ।
महोत्सव सफल पार्न विभिन्न १४ वटा समितिहरु गठन गरिएको पत्रकार सम्मेलनमा जनाए । आठौं संस्करणको महोत्सव सम्पन्न गर्नका लागि २० लाख खर्च गर्ने र आम्दानी २० लाख पचास हजार हुने महासचिव दाहालले बताए । बचत रकमबाट असाहाय बालबालिकाको लागि र पर्यटन प्रबद्र्धनको क्षेत्रमा खर्च गरिने बताए ।