
तस्बिरः विकास द्वारे
काठमाडौं । सरकारले नेपाल ट्रस्टको नाममा रहेको चल अचल सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।
स्वेतपत्र मार्फत सञ्चालक समिति अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले ट्रस्टको नाम रहेका सम्पत्ति सार्वजनिक गरेका हुन् ।
देशभरका १२ जिल्लामा ट्रस्टको नाममा २१ हजार ५६२ रोपनी ४ आना २ पैसा १ दाम जग्गा रहेको छ । चल सम्पत्तितर्फ नेपाली रुपैयाँ ७८ करोड ९ लाख ७७ हजार ७९३ रहेको छ । त्यस्तै १ लाख ४८ हजार ५८१ अमेरिकी डलर, ५० हजार १२४ पाउन्ड स्टिर्लिङ रकम बैंकमा मौजात छ ।
शेयरतर्फ नबिल बैंकको सेयर ५ लाख ३३ हजार २४४ कित्ता, होटल डेला अन्नपूर्णको ३० हजार ७२० कित्ता र नेपाल औद्योगिक विकास निगमको ६ हजार ७५० कित्तासमेत नेपाल ट्रष्टको स्वामित्वमा रहेको छ ।
ट्रस्टको ६ वटा कम्पनीलाई आफ्नो जग्गा लिजमा दिएको छ । गोकर्णस्थित गोकर्ण फरेस्ट रिसोर्ट, कमलानीस्थित काठमाडौं प्लाजाको भवन, लाजिम्पाटस्थीत स्ट्यान्डर्ड चार्टर्ड बैक नेपाल लिमिटेड रहेका भवन, टेकुस्थित बिजनेस पार्क,दरबारमार्गस्थित कम्प्लेक्स, ताहाचलस्थित सोल्टी आउटर कम्प्लेक्स, कालिमाटी लिजमा दिइएको छ ।
२०६४ सालबाट राजा वीरेन्द्र र उनका परिवारका नाममा रहेका सम्पत्ति नेपाल ट्रष्टको नाम ल्याइएको थियो ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले मंगलबार जारी गरेको नेपाल ट्रस्ट सम्पत्ति व्यवस्थापन सम्बन्धी तथ्य विवरण पढ्न तलको लिङ्कमा क्लिक गर्नुहोस् ।