काठमाडौँ, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको आज बुधबार मिर्गौला प्रत्यारोपण गर्न सबै तयारी पूरा भएको छ । उनको मंगलबार ‘डायलसिस’ गरिएको थियो भने प्रत्यारोपणपछि शरीरलाई अन्य व्यक्तिको मिर्गौला स्वीकार गर्न सहज बनाउन ‘इम्युनो सप्रेसेन्ट’ औषधि चलाइएको छ ।
शल्यक्रिया अघि आवश्यक सबै परीक्षण गरिएको छ । यसअघि मुटुलगायतका परीक्षण भइसकेका उनको फोक्सोको स्थितिसमेत राम्रो देखिएको चिकित्सकले बताएका छन् । प्रम ओलीको स्वास्थ्य अवस्था अहिले जस्तै सामान्य रहे आज बिहान ९ बजे शल्यक्रिया सुरु हुने चिकित्सकले जनाकारी दिएका छन् ।