
काठमाडौँ । परीक्षामा कम नम्बर ल्याएको भन्दै विद्यार्थीलाई हात चिर्न लगाएको आरोपमा काठमाडौंको जडिबुटीस्थित जागृति एकेडेमीको शिक्षिका सीतालक्ष्मी कर्मचार्यलाई प्रहरीले पक्राउ गरेको छ । वानेश्वर प्रहरी वृत्तको टोलीले शनिबार दिउँसो कर्माचार्यलाई नियन्त्रणमा लिएको हो ।
परीक्षामा कम अंक ल्याएको भन्दै कक्षा ६ र ७ का गरी कूल ३४ जना विद्यार्थीलाई ब्लेडले हात चिरेर यातना दिएको पाइएपछि महानगरीय प्रहरी वृत बानेश्वरले शिक्षिका कर्मचार्यलाई पक्राउ गरेको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले आरोपित शिक्षिकालाई शनिबार बिहान उनको घरबाटै पक्राउ गरिएको बताए ।
घटनाबारे शनिबार नयाँ पत्रिका दैनिकले पहिलोपटक समाचार प्रकाशित गरेको थियो । विद्यालयका अनुसार गत साता शिक्षिका कर्माचार्यले २० पूर्णाङ्कको परीक्षा लिएकी थिइन् ।
जागृति एकेडेमीले शिक्षिका कर्मचार्यलाई बर्खास्त गरिसकेको छ । प्रिन्सिपल राजनकुमार श्रेष्ठले उनलाई शुक्रबारदेखि लागू हुने गरी बर्खास्त गरेको विज्ञप्ति निकालेका छन् । कर्माचार्य सामाजिक शिक्षा विषय पढाउने शिक्षिका हुन ।
जिल्ला प्रशासन कार्यलय काठमाडौंबाट म्याद थप गरेर कर्मचार्य विरुद्ध अभद्र व्यवहारको कसुरमा अनुसन्धान गरिने एसएसपी सुवेदीले बताए ।