आजदेखि ८ देशको ‘अनअराइभल’ भिसामा रोक

-


     मर्दी न्युज    
     फागुन २७ गते २०७६ मा प्रकाशित


पोखरा, २७ फागुन । अध्यागमन विभागले नोभेल कोरोना भाइरस (कोभिड(१९) अतिप्रभावित ८ देशको अन अराइभल भिसामा रोक लगाइएको छ । आज मंगलवारदेखि लागू हुने गरी र अर्को आदेश नआएसम्मका लागि ती ८ देशको अन अराइभल भिसा राकिएको हो ।

यसअघि सरकारले चीन तथा चीन प्रशासित क्षेत्र, इरान, इटाली, दक्षिण कोरिया, जापान गरी ५ देशलाई मात्र प्रतिबन्ध लगाउने तयारी गरेको थियो । योसँगै थप तीन देशहरू फ्रान्स, जर्मनी र स्पेनका नागरिकलाई ‘अन–अराइभल’ भिसा बन्द गरेको अध्यागमन विभागले जनाएको हो ।

विश्व स्वास्थ्य संगठनले उच्च शतर्कता अपनाउन सुझाव दिएसँगै सरकारले चीन, इरान, इटाली, कोरिया, जापान, फ्रान्स, जर्मनी र स्पेनका नागरिकलाई अन अराइभल भिसा रोकेको अध्यागमन विभागका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए । यसअघि सरकारले युद्धग्रस्त १३ मुलुकबाहेक सबै देशको अन अराइभल भिसामा रोक लगाउने तयारी गरेको भए पनि अहिलेलाई ८ देशलाई मात्र रोकेको छ ।

अब यो निर्णय अनुसार यी ८ देशका नागरिकले नेपाल आउनुपर्ने भएमा कोरोनाभाइरसको सङ्क्रमण नभएको र यात्रा गर्न सक्ने भन्ने प्रमाणपत्रसहित सम्बन्धित नेपाली दूतावास वा नियोगमा आवेदन दिनुपर्ने बताइएको छ । सम्बन्धित देशका नागरिकले नेपालको भिसा पाइसकेको सन्दर्भमा भने स्वास्थ्य जाँचको प्रमाण लिएर आउन भनिएको छ । उक्त स्वास्थ्य जाँचको प्रमाणपत्र नेपाल भित्रिँदा बढिमा ४ दिन अघिमात्र जारी भएको हुनुपर्नेछ ।

नेपालमा सञ्चालित वायुसेवा सञ्चालक र ट्राभल तथा टुर कम्पनीले सरकारको यो निर्णयलाई पूर्ण पालना गर्न पनि निर्देशन दिइएको छ ।

विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांकअनुसार विश्वभर १ लाख ५ हजार ५ सय ८६ जनामा कोरोना संक्रमण देखिएको छ । चीनमा मात्रै ८० हजार ८ सय ५९ जनामा कोरोना संक्रमण देखिएको छ । विश्वभर ३५ सय ८४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।