
काठमाडौं । पर्साको वीरगञ्ज नाका भएर पछिल्लो तीन दिनमा १ सय २८ वटा ग्यास बुलेट भित्रिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार कुल २२ लाख ६३ हजार ११० किलोग्राम खाना पकाउने एलपी ग्यास बोकेका १२८ वटा ग्यास बुलेट मङ्गलबार, बुधबार र बिहीबार गरी तीन दिनमा वीरगञ्ज भन्सार नाका भएर नेपाल भित्रिएका हुन् ।
बजारमा खाना पकाउने एलपी ग्यास अभाव हुने भन्दै जनगुनासो बढी रहेको बेला वीरगञ्ज नाका भएर अन्य सामान्य अवस्थाका दिनमा जस्तै ग्यास बोकेका बुलेट आइरहेको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी विमल साहले बताए ।
विश्वमा कोरोना भाइरसको प्रभाव बढ्दै गएपछि भोलिका दिनमा खाना पकाउने ग्यास अभाव होला कि भनेर उपभोक्तले आ–आफ्नो घरमा ग्यास मौज्दात राख्न थालेपछि एलपी ग्यासको माग बढेको बताइन्छ । उपभोक्ताले घरमा खाली रहेका सिलिन्डर भर्नुका साथै नयाँ सिलिन्डरको जोहो गर्नु नै माग बढ्नुका कारण रहेको नेपाल आयल निगमको दाबी छ ।