कोरोना प्रकोपः संक्रमितको संख्या २ लाख भन्दाबढी, निको हुने करिब ८६ हजार

-


     मर्दी न्युज    
     चैत्र ६ गते २०७६ मा प्रकाशित


तस्विरः एजेन्सी

एजेन्सी । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या २ भन्दा बढी पुगेको छ । विश्वका १७० भन्दा बढी मुलुकका नागरिकहरुमा कोरोनाभाइरस रोग पत्ता लागेको जनाइएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुका अनुसार बिहीबार बिहानसम्म सो रोगको संक्रमणबाट मृत्यु हुनेरुको संख्या (विश्वभर) ८ हजार ९ सय ६१ जना पुगेको छ भने २ लाख १९ हजार ८३ जनामा संक्रमण देखिएको छ ।
विश्वभर संक्रमितमध्ये ८५ हजार ६७३ जना भने निको भएको छ ।

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) चीनमा नियन्त्रणोन्मुख भइरहँदा युरोप र अमेरिकामा भने व्यापक फैलिइरहेको छ । गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोभिड–१९ अहिले विश्वका १ सय ७३ देशमा फैलिइसकेको पुष्टी भएको छ ।

चीनपछि कोरोनाको इपिसेन्टर बनेको इटलीमा कोरोना भाइरस संक्रमणका कारण ज्यान जानेको संख्या २ हजार ९ सय ७८ जना पुगेको छ । त्यस्तै इटालीमा संक्रमितको संख्या ३५ हजार ७ सय १३ पुगेको छ भने गत पछिल्लो २४ घण्टामा थप १ सय ४७ जनाको मृत्यु भएको छ । त्यस्तै मृत्युदर बढी हुनेमा तेस्रो स्थानमा स्पेन रहेको छ । स्पेनमा पछिल्लो २४ घण्टामा थप १ सय ५ जनाको ज्यान गएको छ । इरानमा हालसम्म कोरोना संक्रमितबाट १ हजार १३५ जनाले ज्यान गुमाएको छ भने स्पेनमा ६ सय ३८ जनाले ज्यान गुमाएको छ ।

पछिल्लो २४ घण्टामा विश्वरभर ९ सय ८३ जनाले कोरोनाका कारण ज्यान गुमाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । चीनमा भने कोरोना संक्रमित नियन्त्रण हुँदै गएको छ । पछिल्लो एक दिनमा चीनभर ३४ जना मात्र नयाँ संक्रमित भेटिएको छ । ८० हजार ९२८ जना कोरोना संक्रमितमध्ये ७० हजार ४२० जनाको निको भएको छ । चीनमा हालसम्म ३ हजार २ सय ४५ जनाको ज्यान गएको छ ।