
काठमाडौं, १४ चैत । नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । उनी प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् ।
प्रवक्ता देवकोटाले संक्रमित अरु पनि हुन सक्ने भन्दै विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् ।
दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए । संक्रमित व्यक्ति ३४ वर्षीय पुरुष रहेको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको स्रोतले जनाएको छ ।
जनस्वास्थ्य प्रयोगशालामा हालसम्म ८ सय २ जनाको नमुना परीक्षण भइसकेको छ । जसमध्ये ७ सय ९८ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ४ जनामा संक्रमण पुष्टि भएको छ । कोरोना भाइरसबाट संक्रमित पहिलो व्यक्ति भने निको भइसकेका छन् ।