कोरोना प्रकोपः विश्वभर मृतकको संख्या ३० हजार नाघ्यो, इटलीमा मात्र १० हजार बढी

-


     मर्दी न्युज    
     चैत्र १६ गते २०७६ मा प्रकाशित


पाेखरा । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विश्वभर ३० हजार ७८० मानिसले ज्यान गुमाएका छन् । करिब ६ लाख ६२ हजारभन्दा बढी यस भाइरसबाट संक्रमित हुन पुगेका छन् ।

आइतबार बिहानसम्म विश्वका ६ लाख ६२ हजार ७३ जना यस भाइरसबाट संक्रमित छन् भने विश्वभर हालसम्म १ लाख ३९ हजार ४२६ जना निको भएर घर फर्किसकेको जोन्स् हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट इटालीमा मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । इटालीमा शनिबार मात्रै थप ८८९ जनाको मृत्यु भएको सञ्चारमाध्यमले जनाएको छ ।

यससँगै आइतबार बिहानसम्म इटालीमा मृत्यु हुनेको संख्या १० हजार २३ पुगेको छ । पछिल्लो २४ घण्टामा इटालीमा थप ५ हजार ९ सय ७४ जनामा संक्रमण देखिएको छ । इटालीमा संक्रमितको संख्या ९२ हजार ४ सय ७२ पुगेको छ ।

त्यस्तै अमेरिकामा पनि पछिल्लो २४ घण्टामा संक्रमित र मृत्यु हुनेको संख्या बढेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा ५१५ जनाको मृत्यु भएको छ भने थप १९ हजार ३ सय २ जनामा संक्रमण देखिएको छ । यससँगै आइतबार बिहानसम्म अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार २ सय ११ पुगेको छ भने संक्रमितको सख्या १ लाख २३ हजार नाघेको छ । विश्वमै सबैभन्दा धेरै कोरोना संक्रमित अमेरिकामा भएको छ ।

अमेरिकाका विभिन्न राज्यका गभर्नरले पर्याप्त मेडिकल उपकरण तथा औषधि नभएकाले स्थिति अझ भयावह बन्न सक्ने चेतावनी दिँदै आएका छन् ।