नेपालमा कोरोना संक्रमितको संख्या छ पुग्यो

-


     मर्दी न्युज    
     २० चैत्र २०७६ मा प्रकाशित


पोखरा, २० चैत । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को नयाँ संक्रमित भेटिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या छ पुगेको छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको आज बिहीबार स्वास्थ्य मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो । बिहीबार कोरोनाको नयाँ संक्रमित भेटिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनाएको छ ।

देवकोटाका अनुसार क्यूआर ६५२ को फ्लाइटमा दोहाबाट काठमाडौं आएकी बागलुङकी ६५ वर्षकी वृद्ध महिला भएको पुष्टि गरेकाे छ । यसअघि यही विमानमा आएका दुईजनामा कोरोना पुष्टि भएको थियो ।

नेपालमा अहिलेसम्म ११ सय ८४ जनाको कोरोना परीक्षण भएको छ । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १६ सहित १ सय ५ जना आइसोलेसनमा छन् । बिहीबार मात्र ३९ जनाको कोरोना परीक्षण भएको हो ।

काठमाडौंमा ४३ र धरानमा १२ वटा नमुना परीक्षणको क्रममा रहेको तथा सैनिक अस्पतालले १७ वटा स्वाबको नमुना परीक्षणका लागि लिएको पनि उनले जानकारी दिए ।