पोखरा, २१ चैत । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १० लाख नाघेको जोन हप्किन्स विश्वविद्यालय जनाएको छ । विश्वविद्यालयका अनुसार हालसम्म विश्वका १० लाख १४ हजार ६७३ जना संक्रमित छन् भने ५२ हजार ९ सय ८३ मानिसले ज्यान गुमाएका छन् ।
त्यस्तै कोभिड–१९ बाट अमेरिकामा सबैभन्दा धेरै २ लाख ४३ हजार ४ सय ५३ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै अमेरिकामा कोरोना संक्रमणबाट ५ हजार ९११ मासिनले ज्यान गुमाएको छ ।
यसैगरी इटालीमा १ लाख १५ हजार २ सय ४२ र स्पेनमा १ लाख १२ हजार ६५ जना संक्रमित छन् भने इटलीमा हालसम्म १३ हजार ९ सय १५ मानिसले ज्यान गुमाएको छ भने स्पेनमा मृत्यु हुनेको संख्या १० हजार ३४८ पुगेको छ ।
यसैगरी कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनमा भन्दा जर्मनीमा संक्रमितको संख्या धेरै पुगेको छ । जर्मनीमा ८४ हजार ७ सय ९४ छ भने चीनमा ८२ हजार ४३२ जनामा संक्रमित थिए । चीनमा अधिकांश निको भइ घर फर्किसकेका छन् भने करिब २ हजार ५४५ जना मात्र संक्रमित रहेको सञ्चारमाध्यमले जनाएको छ ।