प्रदेश २ मा कोरोनाको परीक्षण सुरु, थप २ मेसिन खरिद गरिने

-


     मर्दी न्युज    
     २१ चैत्र २०७६ मा प्रकाशित


काठमाडौं, २१ चैत । प्रदेश २ को जनकपुरधामबाट कोरोना भाइरस संक्रमण परीक्षण शुरु गरिएको छ । प्रादेशिक अस्पताल जनकपुरधाममा सेटअप भएको नयाँ ल्याबको प्रदेश २ का सामाजिक विकास मन्त्रि नवल किशोर साहको उपस्थितिमा शुरु गरिएको हो ।

उक्त ल्याबको निरीक्षण गर्दै मन्त्री साहले यसबाट प्रदेशका जनतालाई केहि राहत पुगेको तथा थप राहतका लागि सप्तरीको राजविराज तथा पर्साको बिरगंजमा पनि कोरोना भाईरस परीक्षण सुरु गर्ने घोषणा गरे ।

उनले उपकरण खरिद तथा सेटअपका लागि कार्य अगाडि बढिसकेकोले छिट्टै नै ती सेन्टरहरु पनि संचालनमा आउने बताए ।

उनले स्वास्थ्यकर्मीको बीमा २५ लाख गर्नुका साथै चिकित्सकको हकमा तलबको १०० प्रतिशत र प्राविधिकको हकमा ७५ र अन्य कर्मचारी हकमा ५० प्रतिशत भत्ता बढाईएको पनि जानकारी दिए । परीक्षण शुरु भएको उक्त ल्याबले दैनिक १० वटा केशको परीक्षण गर्ने छ । गोरखापत्र अनलाइन