
एजेन्सी । अमेरिकामा बाघमा पनि कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । बीबीसीले उल्लेख गरेअनुसार अमेरिकाको अति प्रभावित सहर न्युयोर्कस्थित ब्रोन्स चिडियाखानामा रहेको एक चार वर्षको मलायन पोथी बाघमा पनि कोरोना भाइरस ‘पोजिटिभ’ पाइएको लोवास्थित नेशनल भेटेनरी ल्याबरोटरीले पुष्टि गरेको हो ।
अमेरिकामा जनावरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको यो पहिलो घटना हो । भाइरस संक्रमणका कारण बाघको आहार घटेको छ । यद्यपि तिनमा खानेकुरामा केही अरुचि देखिए पनि भेटरिनरी स्याहार उपलब्ध गराइएकाले ती बाघ र सिंह राम्रो स्थितिमा रहेको चिडियाखानाले बताएको छ ।
विभिन्न जनावरले नयाँ संक्रमणलाई विभिन्न तरिकाले प्रतिक्रिया जनाउने हुँदा बाघ र सिंहजस्ता जनावरमा कोरोनाभाइरस कसरी विकसित हुन्छ भन्ने अझै अज्ञात रहेको भन्दै चिडियाखानाले सबै जनावरलाई नजिकबाट नियाल्ने जनाएको छ ।
उक्त चिडियाघर रहेको अर्को मलायन बाघसँगै दुई अमुर प्रजातिको बाघ तथा तीन अफ्रिकी सिंहमा पनि सुख्खा खोकी देखिएको बताइएको छ ।