बेलायती प्रधानमन्त्री जोनसनलाई आईसीयूमा सारियो

-


     मर्दी न्युज    
     २५ चैत्र २०७६ मा प्रकाशित


एजेन्सी ।
कोरोना भाइरसबाट संक्रमित बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई आईसीयूमा राखेर उपचार सुरु गरिएको छ ।

आइतबार अस्पताल भर्ना भएका प्रधानमन्त्रीको स्वास्थ्य अवस्था खस्कँदै गएपछि उनलाई आईसीयूमा सारिएको उनको कार्यालय टेन डाउनिङ स्ट्रिटले जानकारी दिएको बीबीसीको समाचारमा उल्लेख छ । ५५ वर्षीय जोनसनले आइतबार साँझ आफू नियमित परीक्षणका क्रममा अस्पताल भर्ना भएको बताएका थिए । उनले सबै एकजुट भएर लडेमा कोरोना भाइरसविरुद्धको लडाइँमा सफलता हात पार्ने विश्वास दिलाएका थिए ।

महारानी एलिजाबेथलाई पनि प्रधानमन्त्री जोनसनको स्वास्थ्य अवस्थाबारे अवगत गराइएको बकिंघम राजदरबारले जनाएको बीबीसीको समाचारमा उल्लेख छ ।

आइतबार अस्पताल भर्ना भएसँगै उनले विदेश मन्त्री डोमिनिक राबलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका छन् । डाउनिङ्ग स्ट्रीटका प्रवक्ताले प्रधानमन्त्री जोनसनले विदेशमन्त्री डोमिनिक राबलाई ‘जहाँ आवश्यक पर्छ’ त्यहाँ आफ्नो तर्फबाट जिम्मेवारी सम्हालिदिन भनेको समाचारमा उल्लेख गरेको छ ।