कोभिड–१९ को महामारी सुरु भएको वुहान सहरमा लकडाउन हटाइयो

-


     मर्दी न्युज    
     चैत्र २६ गते २०७६ मा प्रकाशित


एजेन्सी ।
कोरोना भाइरस (कोभिड–१९) को उद्गमस्थल चीनको हुबे प्रान्तस्थित वुहान सहरमा लगाइएको लकडाउन हटाइएको छ । लकडाउन हटाएसँगै एक करोड १० लाख मानिसहरू रहेको उक्त सहरमा सबैजसो व्यापार, व्यवसाय सञ्चालनमा आएको छ ।

वुहानमा लकडाउन हटाएसँगै त्यहाँका मानिसहरु पनि काममा फर्केको साउन चाइना मर्निङ पोष्टले जनाएको छ । वुहान सहरमा पहिलोपटक जनवरी २३ तारिखदेखि लकडाउन लगाएको थियो । त्यसयता त्यहाँका मानिसलाई अन्यत्र जान रोक लगाइएकोमा अब जान पाउने भएका छन् ।

वुहान सहरमा लकडाउन हटाइएसँगै यातायातका सबै साधनहरू पनि पुनः सञ्चालनमा आएको बीबीसीले उल्लेख गरेका छन ।

मङ्गलवार चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या शून्य देखिएपछि कोरोना भाइरसको प्रकोप सुरु भएको वुहान सहरमा लकडाउन हटाइएको बीबीसीले जनाएको छ ।

गत महिना वुहानमा एक साताभर कोरोना भाइरसका नयाँ संक्रमित एकजना पनि नपाइएपछि किनमेल केन्द्रहरू खोलिएको थियो । संक्रमित नभएका आवासीय क्षेत्रका केही मानिसलाई पनि घरबाट दुई घण्टाका लागि बाहिर जान अनुमति दिइएको थियो ।