बुटवल — कोरोना संक्रमणको महामारीका बेला अस्पताल नजाने पाँच चिकित्सकलाई प्रदेश–५ को सामाजिक विकास मन्त्रालयले कारबाही गरेको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा करारमा कार्यरत पाँच चिकित्सकलाई सेवाबाट हटाइएको हो ।
प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डन डा.राजेन्द्र खनालले करारमा रहेका चिकित्सक हटाइएको जानकारी दिए । रेडियोलोजी विभागमा कार्यरत डा. बरदान वली र ताराप्रसाद शर्मा, आकस्मिक विभागमा कार्यरत डा. प्रकृति कार्की, नाक, कान घाटी विभागका डा. प्रकाश न्यौपाने र न्यूरो सर्जन डा. सुवासचन्द्र चौधरीलाई सेवाबाट हटाइएको हो ।
उनीहरु अस्पताल प्रशासनलाई जानकारी नदिई सेवामा अनुपस्थित थिए । हटाइएकाहरु करारमा नियुक्त चिकित्सक हुन् । उनले भने, ‘यस्तो महासंकटको बेलामा जस्तोसुकै कठिन अवस्थामा पनि सेवा दिन तयार रहनुपर्नेमा सम्पर्कविहीन भएपछि तिनलाई हटाउनुको विकल्प थिएन ।’
सामाजिक विकासमन्त्री सुदर्शन बरालले महामारीका बेलामा पनि सेवामा नखटिने चिकित्सकलाई कारवाही गर्न मन्त्रालयले दिएको निर्देशनअनुसार नै अस्पतालबाट कारवाही गरिएको बताए ।