बहराइनमा थप १० नेपालीमा कोरोना भाइरसको संक्रमण

-


     मर्दी न्युज    
     चैत्र २७ गते २०७६ मा प्रकाशित


काठमाडौं । बहराइनमा कोरोना भाइरसबाट थप १० नेपाली संक्रमित भएका छन् । योसँगै बहराइनमा मात्रै कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित नेपालीको संख्या २२ पुगेको छ ।

केही समय अघि सल्माबादस्थित एक क्याम्पमा एक जना विदेशी नागरिकमा कोरोना संक्रमण देखिएपछि त्यहाँ कार्यरत चार सय जनालाई क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गरिएको थियो । सोही क्रममा थप १० जना नेपालीहरुमा कोरोना संक्रमण पुष्टि भएको दूतावासले जनाएको छ ।

दूतावासका अनुसार बुधबार दिउँसो दुई बजेसम्म बहराइनमा ५२ हजार तीन सय ५१ जनामा कोरोना संक्रमण भए–नभएको परीक्षण गरिएको छ ।

बहराइनमा कुल संक्रमितको संख्या ३ सय ४९ छ भने पाँच जनाको मृत्यु भएको छ । संक्रमितमध्ये तीन जनाको अवस्था गम्भीर छ । ४ सय ६७ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

यसैबीच बहराइनले अवैधानिक रुपमा विनाकागजात कार्यरत कामदारहरुका लागि वैधानिक हुन वा बहराइन छाड्न ३१ डिसेम्बर २०२० सम्मको समय दिएको दूतावासले जनाएको छ ।

बहराइनस्थित नेपाली दूतावासले निकालेको पछिल्लो विज्ञप्ति