आजबाट नयाँ वर्ष २०७७ सुरु, कोरोनाका कारण घरमै बसेर नयाँ वर्ष मनाउँदै

-


     मर्दी न्युज    
     १ बैशाख २०७७ मा प्रकाशित


पोखरा, १ बैशाख । आजबाट विक्रम संवत् २०७७ सालको नयाँ वर्ष सुरु भएको छ । नयाँ वर्षको पहिलो विहानीसँगै देश र देशवासीको नयाँ यात्रा प्रारम्भ हुने गर्छ । पुरानो वर्षका दुखहरु भुलेर, सुखहरु संगालेर नयाँ वर्षलाई स्वागत गर्दैछौं । तर विगतमा जस्तो यसपाली देशमा नयाँ वर्षको उमंग छैन । सिंगै विश्व कोरोना भाइरसको चपेटमा परिरहेको र नेपाल पनि यही त्रासबाट गुज्रिरहेको अवस्था छ । देशभरका जनता लकडाउनमा छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश दिंदै उल्लास र उमङ्गको पर्व हुनुपर्नेमा साह्रै अप्ठ्यारो परिस्थितिमा स्वागत गर्नुपरेको बताएका छन् ।

त्यसैले पनि कसैले पनि रमाइलोसँग नयाँ वर्ष मनाउने मुड छैन । यद्यपि, सामाजिक सञ्जाल, फोन र म्यासेजहरुमा शुभकामना आदानप्रदान भइरहेका छन् । यद्यपि होटल, रेष्टुरेन्ट, पार्क लगायतका स्थानमा भेला भएर नयाँ वर्ष मनाउने गरिए पनि यस वर्ष कोरोना भाइरस महामारीको जोखिमका कारण नेपालीहरुले घरमै बसेर नयाँ वर्ष मनाउँदैछन् । कोरोना संक्रमणको जोखिमका कारण विगत वर्षमा जस्तो घुमफिर एवं मेला महोत्सवमा सहभागी हुन सरकारले प्रतिबन्ध लगाएको छ । त्यसैले पनि यसवर्ष साथीभाइ एवम् इष्टमित्रसँग भेटघाट गरेर मनाउन सहज छैन ।

पोखराका विन्ध्यवासिनी, तालबराही, भद्रकालीलगायतका मन्दिरमा पूजाआराधना एवम् दर्शनका लागि भीड लाग्नेमा यसवर्ष सुनसान छ । भीडभाड भई कोरोना भाइरस सर्न सक्ने भएकाले सजगता अपनाउँदै धेरै मन्दिरमा सूचना टाँस गरी मूल ढोकामा ताला लगाइएको छ ।

२०७७ सालको पहिलो सूर्योदय भइसकेको छ र हामी २०७७ साललाई स्वागत गर्दैछौं । अहिले बिहान ८ बजे देशव्यापी नेपालको राष्ट्रिय गान र ताली बजाउन आव्हान ग्लोबल कम्प्याक्टको आव्हानमा
प्रधानमन्त्रीले सबै नेपालीलाई एकसाथ नेपालको राष्ट्रिय गान गुञ्जाउन आह्वान गरेका छन् ।

हामीले पोखराको नारायण थानको पृष्ठभूमिमा राखेर पहिलो दिनको सूर्योदयका केही तस्विरहरु मोवाइलबाट कैद गरेका छौं । तस्विरः खेम गुरुङ