
पोखरा, ४ वैशाख । कोरोना भाइरस संक्रमणबाट जोगिन गरिएको लकडाउन अझै प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय कास्कीले सवारी पासमा कडाइ गरेको छ । प्रशसनले आजै एक सूचनामार्फत मृत्यु संस्कारमा सहभागी हुन जाने व्यक्तिका लागि मात्रै इ–पास उपलब्ध गराउने जनाएको छ ।
बुधवार जिल्ला प्रशासन कार्यालय कास्कीले सूचना जारी गर्दै अत्यावश्यकीय सवारी सञ्चालन अनुमतिका लागि विद्युतीय अनुमतिपत्र (इ–पास)को व्यवस्था गरेको थियो ।
सवारी पास लिने अत्याधिक भएपछि त्यसको व्यवस्थापन गर्न उक्त निर्णय लिइएको कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानबहादुर ढकालले जानकारी दिए । उनका अनुसार इ–पासका लागि १ हजार ६ सयले निवेदन दिएका छन् ।
सूचनामा उल्लेख भएअनुसार सवारी इ–पास पेश भएको प्रमाणका आधारमा परिवारका सदस्यको मृत्यु संस्कारमा सहभागी हुन जाने व्यक्तिलाई मात्र प्रदान गरिने जनाइएको छ ।
अन्य सामान्य विषयका लागि इ–पास प्रणालीमा अनुरोध नगरिदिन समेत उनले आग्रह गरेका छन् । लकडाउन थप प्रभावकारी बनाई कोभिड– १९को संक्रमण रोकथाम र नियन्त्रणमा सहयोग गर्न आग्रहसहित सूचना जारी गरिएको ढकालले बताए ।
