डाक्टर पुनलाई स्पष्टिकरण सोधिएको होइनः स्वास्थ्य मन्त्रालय

-


     मर्दी न्युज    
     ७ बैशाख २०७७ मा प्रकाशित


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका रिसर्च युनिटका प्रमुख डाक्टर शेरबहादुर पुनलाई स्पष्टिकरण नसोधिएको बताएको छ ।

आइतबार नियमित मिडिया ब्रिफिङमा बोल्दै स्वास्थ्य मन्त्रालयका सहसचिव रघुराम बिष्टले डाक्टर पुनलाई अस्पतालको काममा बाधा नपुग्ने गरी मन्त्रालयको कोभिड–१९ विरूद्धको अभियानमा सहयोग गर्न मन्त्रालय बोलाइएको बताए ।

उनले केही अनलाइन, पत्रपत्रिका, टेलिभिजन तथा सामाजिक सञ्जालमा सत्यतथ्य बङ्ग्याई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा मन्त्रीको नाम मुछि अनर्गल तथा दुष्प्रयास गर्ने कार्य भएकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै खेदजनक भएको बताए ।

सहसचिव बिष्टले डाक्टर पुनलाई लेखिएको पत्रको व्यहोरा नै पढेर सुनाएका थिए ।

यता डाक्टर पुनले पनि आफू आजै मन्त्रालयमा उपस्थित भई सम्बन्धित अधिकारीहरुसँग सम्पर्क गरी नियमित टेकु अस्पतालमै काम गरिरहेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ‘माननीय मन्त्रीज्यू र मन्त्रालयसँग जोडी अनर्गल प्रचार नगरिदिनुहुन र विश्वव्यापी Pandemic का रुपमा फैलिएको कोभिड–१९ को मारबाट मुलुकलाई बचाउन एकताबद्ध भइदिनुहुन सम्बध सबैमा अनुरोध गर्दछु’– डाक्टर पुनले विज्ञप्तिमार्फत भनेको छ ।