
एकराज गिरी
पोखरा, ८ वैशाख । पोखरा महानगरपालिमा अनलाइन मार्फत् न्यायिक उजुरी दिन सकिने भएको छ । न्यायिक समिति समक्ष अनलाइनमार्फत उजुरी दर्ता गराउन सकिने व्यवस्था गरिएको हो ।
कोरोना भाइरसको संक्रमणका कारण देश लकडाउन भएकाले न्यायिक समितिले अनलाइनमार्फत पीडितले उजुरी गर्नसक्ने व्यवस्था गरेको पोखरा महानगरपालिकाका उपप्रखु एवं न्यायिक समिति संयोजक मञ्जुदेवी गुरुङले बताइन् ।
न्यायिक समिति समक्ष [email protected] मार्फत उजुरी दर्ता गर्न सकिन्छ उपप्रमुख गुरुङले भनिन् ।
कोरोना रोकनाथ तथा नियन्त्रण मुल समितिको बैठकले अनलाइन मार्फत उजुरी लिने निर्णय गरेको थियो भने महानगर न्यायिक समितिको सोमबार बसेको बैठकले न्यायिक समिति समक्ष अनलाइनमार्फत दर्ता उजुरीको सम्बोधन गर्ने निर्णय गरेको हो ।
लकडाउनका कारण सर्वसाधारण घरबाट बाहिर निस्कन नपाउने अवस्था सिर्जना भएकाले न्यायमा सहज पहुँच बनाउन समितिले अनलाइनमार्फत् उजुरी दर्ता गर्ने व्यवस्था मिलाएको हो । स्थानीय तहका विवाद स्थानीय तहमै समाधान गर्ने उद्देश्यले नेपालको संविधानमै न्यायिक समितिको व्यवस्था गरिएको छ ।
संविधानको व्यवस्था अनुसार महानगरका उपप्रमुख संयोजक र दुई जना सदस्य रहने व्यवस्था गरेको छ । न्यायिक समितिलाई १३ वटा विवादको निरुपण र ११ वटाको मेलमिलाप गराउने पाउने व्यवस्था छ ।